प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले संयम हुन आग्रह गर्दै हात हालाहालको स्थिति लडाइँमा परिणत नहोस् भनेर कामना गरेपछि भारत र पाकिस्तानबीचको लडाइँ रोकिएको बताएका छन्।
सोमबार २५६९ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस –२०८२ को अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। केही दिनअघि मात्रै छिमेकी मुलुक भारत र पाकिस्तानबीच युद्धको स्थिति सिर्जना भए पनि त्यो अघि बढ्न नपाएको बताए। उनले लडाइँ अगाडि नबढोस् भनेर कामना गरेको स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले भारत र पाकिस्तानले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गरेको बताउँदै संयमताका लागि दुवै मुलुकलाई धन्यवाद दिए। उनले फेरि पनि दुवै देशबीच केही आरोप-प्रत्यारोपको स्थिति जारी रहेको जिकिर गरे।
उनले भने, ‘केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा झन्डैझन्डै भारत र पाकिस्तानको अलिकति हात हालाहाल त भएको थियो। तर हात हालाहाल बढ्न पाएन। संयमका लागि उहाँहरूलाई धन्यवाद छ। हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् है यो। यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गऱ्यौँ। उहाँहरूसँग पनि कुरा गऱ्यौँ। नभन्दै, उहाँले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।’
प्रधानमन्त्री ओलीले बुद्धका शान्तिका सन्देशहरूको अर्थ अहिले पनि र जहाँ पनि रहेको बताए।
उनले व्यक्तिको आफ्नो मनस्थिति, पारिवारिक र सबै कुराको लागि शान्तिको महत्व रहेको धारणा राखे।
उनले बुद्धले उपदेशहरूमार्फत दिएको शिक्षा विश्वका लागि धेरै महत्त्वपूर्ण रहेको जिकिर समेत गरे।
आफूले समन्वय गरेपछि भारत र पाकिस्तानको लडाइँ रोकिएको प्रधानमन्त्रीको दाबी#NeepalKhabar #KPSharmaOli #IndiaPakistanWar pic.twitter.com/cEsVnf2di6
— Nepalkhabar (@nepalkhabar) May 12, 2025
Shares

प्रतिक्रिया