राजनीति


अनि गुणाकरको अडान छाडेर विश्व पौडेललाई गभर्नर बनाउने निधोमा पुगे देउवा

अनि गुणाकरको अडान छाडेर विश्व पौडेललाई गभर्नर बनाउने निधोमा पुगे देउवा

सागर न्यौपाने
बैशाख २८, २०८२ आइतबार २०:२२, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हत्तपत्त शनिबार कार्यक्रम राख्दैनन्। सकभर भेटघाट पनि गर्दैनन्। जरुरी नपरी रातिको समयमा उनी भेटघाट पनि खासै नगर्ने कांग्रेस नेताहरू बताउँछन्।

तर, वैशाख यता देउवा निरन्तर साँझमा सक्रिय छन्। नेपाल राष्ट्र बैंकको गभर्नर आफ्नो कोटामा परेपछि देउवाले वैशाख ३ गते साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा गएर भेट गरे।  त्यसक्रममा उनले राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्न ओलीलाई नाम दिए।

भट्टले पनि कार्यकारी निर्देशकबाट वैशाख ५ गते राजीनामा दिए। देउवा भने वैशाख ७ गते साताव्यापी उपचार भ्रमणका लागि बैंकक उडे। 

चैत २५ गते आफ्नो कार्यकाल पूरा गरेर गभर्नर महाप्रसाद अधिकारी सेवा निवृत्त भएपछि सो पद रिक्त छ। 

देउवा चाहन्थे– लामो समय राष्ट्र बैंकलाई गभर्नरविहीन नराखौँ। त्यही भएर बैंकक जानुअघि नै उनले नाम दिए। 

तर, प्रधानमन्त्री ओलीले वैशाख ११ गतेसम्म पनि गभर्नर नियुक्त गर्न प्रक्रिया नै अघि बढाएनन्। अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिको बैठक समेत बसेन। उल्टै, कायममुकायम गभर्नर नीलम ढुङ्गानाले भट्टले दिएको राजीनामा स्वीकृत नगरेको देउवाले थाहा पाए।

प्रधानमन्त्री ओलीले नै कांग्रेसको कोटामा परेको गभर्नर नियुक्त गर्न नचाहेको र आनाकानी गरेको भन्दै सरकार ढल्न लागेको हल्ला फैलियो।

देउवा फर्किएपछि ओली नेतृत्वको सरकारको विषयमा गम्भीर निर्णय लिने कांग्रेसकै नेताहरूले बताए। यतिसम्मकि, कांग्रेसका पदाधिकारीले त सभापति देउवासँग निर्णायक छलफल गर्ने बताए। 

यसले ओलीलाई तनाव दियो। बैंककमै रहेका देउवालाई उनले वैशाख ११ गते सम्पर्क गरे। 

सरकारको विकल्प खोज्न लागेको हो कि होइन भनेर जिज्ञासा राखे। यो कुरा वैशाख १२ गते बैंककबाट फर्किएपछि विमानस्थलमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बताइन्। 

वैशाख १३ गते ओली भेट्न देउवा बालुवाटार गए। र, त्यो दिन शनिबार नै थियो। 

वैशाख ३ गते एक्लै ओलीलाई भेटेर गभर्नरमा गुणाकरको नाम दिएका देउवाले १० दिनपछि बालुवाटार जाँदा गृहमन्त्री रमेश लेखकलाई साथमै लगेका थिए। अर्थमन्त्री विष्णु पौडेल पनि थिए।  

देउवाले गभर्नर नियुक्तिमा ढिलाइको कारण सोधे। ओलीले प्राविधिक कारणले रोकिएको जवाफ दिए।

अर्थमन्त्री पौडेलले पनि कायममुकायम गभर्नर नीलम ढुङ्गानाले कार्यकारी निर्देशक भट्टको राजीनामा स्वीकृत नगरेकैले रोकिएको सुनाए।

‘छिटो गर्नुपर्‍यो, ढिला गर्दा बाहिर सन्देश राम्रो जाँदैन,’ देउवाले भने। 

लगत्तै प्रधानमन्त्री ओलीले अर्थमन्त्री पौडेललाई नीलमसँग कुरा गरेर तत्काल भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन दिए। 

वैशाख १४ गते पौडेलले नीलमलाई बोलाएर भट्टको राजीनामा स्वीकृत गरेर पठाउन सुझाए। तर, नीलमले मानिनन्। 

भट्टको राजीनामा कुनै हालतमा स्वीकृत नगर्ने उनले अड्डी कसिन्। बरु राष्ट्र बैंक छोड्न तयार रहेको सन्देश दिइन्।

यो कुरा देउवालाई चित्त बुझेन। ओलीले देउवालाई केही दिनमा नीलमलाई मनाउने वचन दिइरहे। वैशाख २० र २१ गते पनि ओली भेट्न देउवा बालुवाटार गए।

गभर्नर नियुक्तिमा ओलीले ढिलाइ गरेपछि पार्टीका नेताहरूले असन्तुष्टि जनाइरहेको सन्देश लिएर पुगेका देउवासमक्ष ओलीले २५ गतेसम्मको समयसीमा दिए।

‘बुधबारसम्म (२४ वैशाख)  भट्टजीको राजीनामा स्वीकृत गराएर बिहीबार (२५) गते बस्ने मन्त्रिपरिषद् बैठकले गभर्नरमा नियुक्त गर्छ,’ ओलीको भने।  

यही सन्देश देउवाले आफूनिकट नेतालाई दिए। 

समयसीमा सकियो, तर भट्टलाई गभर्नर नियुक्ति त परैको कुरा, कार्यकारी निर्देशकबाट दिएको राजीनामा समेत स्वीकृत भएन।

अनि वेशाख २५ गते साँझ नै पराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकलाई लिएर देउवा बालुवाटार पुगे। 

अर्थमन्त्री पौडेलसहितको उपस्थितिमा भएको छलफलमा प्रधानमन्त्री ओलीले कांग्रेसलाई दिएको कोटाकै गभर्नर नियुक्त गर्ने बताउँदै तीन विकल्प अघि सारे। नीलम ढुंगानालाई मनाएर भट्टको राजीनामा स्वीकृत गराउने र, गभर्नर नियुक्त गर्ने पहिलो प्रस्ताव थियो। 

राजीनामा स्वीकृत नभए पनि सरकारले गुणाकरलाई नै गभर्नर नियुक्त गर्ने र कुनै कानुनी समस्या आए सामना गर्ने दोस्रो विकल्प सारे भने तेस्रोमा राष्ट्र बैंकभन्दा बाहिरको अर्थात् गुणाकरको विकल्पको नाम अघि सार्ने। 

एमालेबाहेकको गठबन्धन बनाएर जोखिम मोल्न तयार नभएका देउवाले वैशाख २६ गते पार्टीको पदाधिकारी बैठकमा ओलीका तीनवटै विकल्पबारे चर्चा गरे। 

तर, गुणाकरलाई नै बनाउन अन्तिमसम्म जोड गर्ने निचोड निस्कियो।

तर, वैशाख २७ गते साँझ रमेश लेखकलाई लिएर बालुवाटार पुगेका देउवाले ओलीसमक्ष एकाएक नयाँ नाम प्रस्ताव गरे–अर्थविद् डा. विश्व पौडेलको। 

जबकि, अर्थमन्त्री पौडेल संयोजकत्वको गभर्नर सिफारिस समितिका विज्ञ सदस्य थिए पौडेल। 

गुणाकर भट्टलाई नै गभर्नर बनाउन २५ दिनसम्म कुरेका देउवाले वैशाख २७ गते पौडेलको नाम दिएका छन्। कांग्रेसको कोटामा परेकोले देउवाले जसको नाम दियो त्यही गभर्नर बन्ने निश्चित छ।

तर, गुणाकर भट्टको राजीनामा स्वीकृत नभएपछि देउवाले पौडेलको नाम अघि सारेको नेताहरू बताउँछन्। पौडेलले आइतबार गभर्नर सिफारिस समितिबाट राजीनामा पनि दिइसकेका छन्। यससँगै उनी गभर्नर बन्ने निश्चित भएको छ।

‘राम्रो व्यक्तिलाई गभर्नर बनाउनुपर्छ भनेर सभापतिज्यूले यसपटक निकै जोड गर्नुभएको हो,’ देउवानिकट एक नेताले नेपालखबरसँग भने, ‘कुरा गर्दै जाँदा को राम्रो हुन्छ भन्दा विश्व पौडेलको नाम आएको हो। हाम्रो पार्टीबाट यही फाइनल हो भनेर दिनुभएको हो।’

ती नेताका अनुसार सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस समितिमा नयाँ सदस्य नियुक्त गर्नेछ। जसले पौडेलको नाम सिफारिस गर्नेछ।

‘सबै कुरा मिलाएर अब बिहीबारसम्म गभर्नर नियुक्त गर्छु भनेर प्रधानमन्त्रीले फेरि वचन दिनुभएको रहेछ,’ ती नेताले थपे। 

देउवाले गठबन्धनमा समस्या आउन नदिन पौडेललाई अघि सारेको कांग्रेसका अर्का एक नेताले बताए।

‘गठबन्धनमा अप्ठेरो पर्‍यो, परिस्थिति नै त्यस्तै बनाउँदै लगिएको छ,’ कांग्रेसका अर्का नेता भन्छन्, ‘गठबन्धनमा समस्या आउन नदिन सभापति देउवाले आफैँले विश्वास गर्ने विश्वजीलाई अघि सार्नुभएको हो।’ 

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत पद छाडेका ज्ञानेन्द्र ढुङ्गानालाई गभर्नर बनाउनकै लागि नीलमले राजीनामा स्वीकृत नगरेकोे सूचना पाएपछि देउवा भट्टको नामबाट ‘यूटर्न’ भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad