राजनीति


फोटाका बाघ हेरेर यसले केही गर्दैन भनेर हुँदैन: प्रधानमन्त्री

फोटाका बाघ हेरेर यसले केही गर्दैन भनेर हुँदैन: प्रधानमन्त्री

नेपालखबर
बैशाख २७, २०८२ शनिबार १४:३४, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको फँडानी कडाइका साथ रोकिने बताएका छन्। 

वन तथा वातावरण मन्त्रालयद्वारा शनिबार आयोजित दोस्रो राष्ट्रिय वन सम्वर्द्धन गोष्ठीको उद्घाटनमा प्रधानमन्त्री ओलीले देशको सालघारी प्रकृतिको अनुपम उदाहरण भएको र पानी पार्न यस्ता अग्ला रुखहरूको महत्त्व हुने भएकाले उमेर नपुगेसम्म साललाई व्यावसायिक उपयोगमा लान नहुने बताए। 

‘हरियो वन नेपालको धन’को नारा पुरानै भए पनि धनका रूपमा वनको सदुपयोग भएको थिएन तर अहिले हामीले एउटा संकल्प लिएका छौँ, वनको विनाश हुन नदिएर सौर्यमण्डलको सार्थकताका लागि वन संरक्षण गरेर कसरी उपयोग गर्न सकिन्छ भनेर लागेका छौँ’, प्रधानमन्त्री ओलीले भने, ‘वन क्षेत्रको संरक्षण हामीले बढाएका छौँ। अब यसको विस्तारमा भन्दा उत्पादनमा जानुपर्छ। वनको व्यावसायिक उपयोगका लागि हतार पनि नगर्ने र ढिलो पनि नगर्ने नीति लिनुपर्छ।’

हाल देशमा ४६ प्रतिशत भूभाग वनले ओगटेको छ। 

प्रधानमन्त्री ओलीले विश्वको  वातावरणका लागि पनि योगदान गर्नुपर्ने वषय भएकाले अब वन सबलीकरण गर्ने र बुट्यानहरूलाई पनि सघन वनमा रुपान्तरण गर्नुपर्नेमा जोड दिए। 

कृषि र वनको अधिकृत मिलेर फलफूलखेतीमा जोड दिन सकिने भन्दै उनले हिमाली भेगमा प्रशस्त जैतुनको खेती गर्न सकिने भएकाले पारस्परिक सहयोग बढाएर वन संरक्षण गर्दै आर्थिक समृद्धिको मार्ग अग्रसर हुन आग्रह गरे। 

उनले किसानलाई पशुपालनमा प्रेरित गर्दा नवीकरणीय वनलाई सहयोग हुने र चरिचरणको विस्तार गर्दा वन र कृषिको पर्यावरणलाई जोड्न सकिने बताए। 

‘मैले बाघको सङ्ख्या अब बढाउनु पर्दैन भन्दा वातावरणविरोधी भयो भनेर नबुझीकन टिप्पणी पनि गरियो। खान नपाएपछि उसले मान्छेलाई आक्रमण गर्छ। फोटाका बाघ हेरेर यसले केही गर्दैन भनेर हुँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले अन्तरराष्ट्रिय प्रतिबद्धताबमोजिम दोब्बरभन्दा बढी सङ्ख्यामा बाघ संरक्षण गरेका छौँ। वनको छेउमा बस्नेलाई यसको पीरमर्का थाहा छ। वातावरणको संरक्षण मानव जातिका लागि हो। मानव जाति नै असुरक्षित भएर वातावरणको संरक्षण गर्न सकिँदैन।’

प्रधानमन्त्री ओलीले पेरिस सम्झौता नमान्ने केही  देश रहेको उल्लेख गर्दै विश्व समुदायसँगको सहकार्यमा सबै समाहित हुनुपर्नेमा  जोड दिए। उनले यो महत्त्व आज बुझिएन भने भोलि बुझ्न ढिलो हुने लागेर मुलकले पहिलोपटक अन्तरराष्ट्रियस्तरको कूटनीतिक मञ्च ‘सगरमाथा संवाद’ आयोजना गर्न लागेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad