आम जनता पार्टीका अध्यक्ष रहेका सांसद प्रभु साहले भारत–पाकिस्तान तनावमा नेपालले शान्तिको प्रयास गर्नुपर्ने बताएका छन्।
‘छिमेकमा यत्रो घटना घटेको छ, तपाईं चुप लागेर बस्न मिल्छ र?’ संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पयर्टन समितिका सदस्य तथा पूर्वसभापति साहले बिहिबार दिउँसो नेपालखबर ‘तत्कालै’मा भने, ‘छिमेकमा आगो लाग्दा मान्छे सुतेर बस्छ? खालि यसको असर भारत र पाकिस्तानमा मात्रै पर्ने हो र? हाम्रो देशमा पनि पर्छ होला। भारत–पाकिस्तानको तनाव भइरहँदा भारतीय नेता किन नेपालमा आएर भेट्छन् र आफ्नो सरोकार राख्छन्? पक्कै नेपालको भूमिका छ भनेरै त होला। यो कुरालाई हामी सानो मान्छेले बुझिराखेको छौँ भने हाम्रा नेताहरूले नबुझेका होलान् र? बुझेर नबुझेजस्तो गर्नु उचित होइन।’
कतिपय मुलुकले युद्ध हुन नदिन भारत–पाकिस्तानबीच मध्यस्थता गर्ने प्रयास पनि थालेका छन्। तर सार्कको अध्यक्ष रहेको नेपालले बिहीबार साँझ मात्रै भारत र पाकिस्तानबीच बढ्दै गएको तनावप्रति चिन्ता व्यक्त गरेको छ र भारतको आतंकवादविरुद्धको लडाइमा साथ रहेको बताएको छ।
‘यी दुई हाम्रा छिमेकी देश हुन् र सार्कको महत्त्वपूर्ण देश हुन्। यी देशका घटनाक्रममा नेपाल प्रतिक्रियाविहीन बन्नु राम्रो होइन। यसले नेपालको इमेज पनि माथि उठाउँदैन। अहिले त सार्कको नेतृत्वमा छ नेपाल। नेतृत्वको नाताले यसमा आफ्नो भूमिका बढाउनुपर्ने हो,’साहले भने, ‘यो क्षेत्रमा हामीलाई शान्ति र अमनयचयन चाहिएको छ। सार्कको नेतृत्वको हिसाबले नेपाल चिन्तित हुनुपर्ने हो र आफ्नो भूमिका नेतृत्वदायी हिसाबले उठाउनुपर्ने हो।’

हामीले सोध्यौँ– नेपालले यसमा कस्तो धारणा बनाउनुपर्छ भन्ने लाग्छ?
‘आतंकवादले न भारतलाई फाइदा छ, न पाकिस्तानलाई,’ जवाफमा साहले भने, ‘मानवता पक्षधरहरू एकजुट हुन जरुरी छ र यस्ता सोचहरूलाई निस्तेज पार्न आवश्यक छ। पाकिस्तानकै भूमिबाट पनि यस्ताहरूलाई निस्तेज गर्ने र अन्त्य गर्नुपर्ने अहिलेको आवश्यकता हो। त्यसैले नेपालले आतंकवादी घटना र अन्तरदेशीय सम्बन्धका बारेमा आफ्नो दृष्टिकोण बनाउन जरुरी छ।’
खासगरी पाकिस्तान सतर्क हुन जरुरी रहेको साहको मत छ।
‘यसमा पाकिस्तान सतर्क हुन जरुरी छ,’ उनले भने, ‘मिसगाइड गरेर दुई देशको टकराव ल्याउन खोज्ने दुवै देशमा सक्रिय हुन सक्छन्। यसमा सतर्क हुन जरुरी छ। गलत क्रियाकलापको सती जाने होइन। यसलाई दुत्कार्न सक्नुपर्छ र आफ्नो पक्ष प्रष्ट पार्न सक्नुपर्छ। यदि पाकिस्तानी भूमिमा आतंकवादी समूह या गतिविधिको जरो छ, कनेक्सन छ या हेडक्वार्टर नै छ भने त्यसमा पाकिस्तान आफैले एक्सन लिन सक्नुपर्छ। किनकि भारतमा भएको घटना भारतविरोधी होइन, मानवताविरोधी हो। ’

भारत–पाकिस्तानबीच युद्ध भए त्यसले नेपालमा ठूलो असर गर्ने बताउँछन् साह।
‘नेपाल र भारतबीच खुला सीमा छ,’ उनले भने, ‘हाम्रो सम्पूर्ण अर्थतन्त्रको ८० प्रतिशत कारोबार भारतसँग जोडिएको छ। र, पाकिस्तान पनि हाम्रो अभिन्न छिमेकी देश हो। नेपालसँग गहिरो सम्बन्ध राख्छ। यी देशबीचको भिडन्तले सिधा हाम्रो देशको निकायलाई असर पर्नु स्वाभाविक हो। अझ हामी त सार्कको नेतृत्वकर्ता पनि हो। तर अहिलेको सरकार बनेपछि कूटनीतिक क्षेत्र शिथिलजस्तो भयो, मृतजस्तो भयो। सार्क राष्ट्रको त छाड्दिनुस्, नेपालको साझेदारजस्तो पनि देखिँदैन। कांग्रेसजस्तो परिपक्व पार्टीले सत्ता साझेदार दल भएर पनि आफ्नो भूमिका निर्वाह गर्न सकेको छैन। यो दुःखलाग्दो कुरा हो।’
साह यतिखेर पाकिस्तानी सैनिक शिक्षार्थी नेपालमा हुनु गलत भएको र सरकारको नेतृत्वमा सुझबुझको कमी हुँदा यस्तो अवस्था आएको बताउँछन्। साह यतिखेर सरकारले गर्न लागेको ‘सगरमाथा संवाद’ रोक्नुपर्ने बताउँछन्। जलवायु परिवर्तनले पारेको असरबारे विश्वसमुदायलाई जानकारी दिने उद्देश्यले काठमाडौंमा आगामी जेठ २ देखि ४ गतेसम्म हुन लागेको सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको छ। संवादमा विदेशी पाहुनासहित जलवायु परिवर्तनको क्षेत्रमा काम गरिरहेका झन्डै ५० देशका तीन सय उच्चपदस्थ अन्तर्राष्ट्रिय पाहुनालाई निमन्त्रणा गरिएको बताइएको छ।
तर साह भन्छन्, ‘सगरमाथा संवाद पनि रोक्नुपर्छ। नेपालले सन्देश दिनुपर्छ– नेपाल भारत–पाकिस्तान तनावबाट चिन्तित छ। त्यो सन्देश दिँदा नेपालको इमेजलाई माथि नै उठाउँछ।’

यो कांग्रेस–एमालेको होइन, ओली–देउवाको मात्रै गठबन्धन हो
सांसद साह अहिलेको सत्ता गठबन्धन कांग्रेस–एमालेको नभएर केपी ओली र शेरबहादुर देउवाबीचको भएको बताउँछन्।
‘यो सरकार भनेको दुई नेताको सरकार हो, कहीँ पनि द्विविधा नराख्नुस्। दुई नेताले हस्ताक्षर गर्दा सांसद र पार्टी थिएन,’ साह भन्छन्, ‘नत्र पार्टीको सिद्धान्तले त मिल्दैन नि यो गठबन्धन। न जनादेशले मिल्छ। यो दुई नेताको सरकार हो। दुई नेताको वरिपरिकाले मात्रै लाभ लिइरहेका छन्। एमालेले पनि लाभ लिएको छैन, कांग्रेसले पनि लिएको छैन। दुई नेताको अघिपछि गर्नेले मात्रै लाभ लिइरहेका छन्।’
अहिले ओलीसँग देउवा खुसी नभएको र समीक्षाको मुडमा भएको साहको भनाइ छ।
‘अहिले दुवैजना पहिलेजस्तो आश्वस्त र विश्वस्त हुनुहुन्न एकअर्काप्रति,’ उनले भने, ‘हिजो जुन ढंगले देउवाले ओलीमाथि विश्वास गर्नुभएको थियो, मेरो रिडिङमा यतिबेला देउवा समीक्षाको मुडमा हुनुहुन्छ। दुई महिनाअघि हुनुपर्ने गर्भनरको नियुक्ति अहिलेसम्म हुन नसक्नुले पनि केही न केही नमिलेको देख्न सकिन्छ। विभिन्न घटनाक्रमले कहीँ न कहीँ खटपट छ भन्ने देखिन्छ। नत्र एउटा गर्भनर नियुक्ति गर्न नसक्ने होइन। त्यसले पनि दुई नेताबीच सम्बन्ध राम्रो छैन। गठबन्धन पूरै धर्मराएको स्थिति देखिन्छ। यो लामो जान्छजस्तो देखिँदैन।’
फोटो/भिडिओ : सरोज नेपाल/सौगात दाहाल

प्रतिक्रिया