राजनीति


डेढ महिनादेखि गभर्नर नियुक्त हुन नसक्नु दुःखद : सांसद केसी

डेढ महिनादेखि गभर्नर नियुक्त हुन नसक्नु दुःखद : सांसद केसी

नेपालखबर
बैशाख २५, २०८२ बिहिबार १४:२५, काठमाडौँ

नेपाली कांगेसका सांसद अर्जुननरसिंह केसीले नीति तथा कार्यक्रममा संशोधन नहुने हो भने संसद्‍मा छलफल गर्न व्यर्थ हुने धारणा राखेका छन्। 

बिहीबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले दुई तिहाईको बलियो सरकारले सबै दलका धारणा समेटेर थप उन्नत, व्यवस्थित र कार्यान्वयनयोग्य दस्तावेजका रूपमा नीति तथा कार्यक्रमलाई ल्याउनुपर्नेमा जोड दिए।

नीति तथा कार्यक्रमलाई कार्यान्वयनयोग्य बनाउन महत्वाकांक्षी भन्दा पनि व्यवहारिक योजनालाई समेटर आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्ने केसीले बताए। ‘नीति तथा कार्यक्रम, बजेटमा एउटा खालको प्रतिबद्धता जनाउने तर त्यसलाई कार्यान्वयन नगर्ने परिपाटीले आम नागरिकमा निराशा बढेको छ,’ उनले भने, ‘उदाहरणका लागि मुलुकभित्रै मल कारखाना खोल्ने प्रतिबद्धता जनाइएको दशकौंँ भइसक्यो तर पनि त्यो व्यवहारमा लागू भएको छैन।’ 

सीमान्तकृत र निरपेक्ष गरिबीको रेखामुनी रहेका नागरिकको आयस्रोत सुनिश्चितता तथा सामाजिक न्यायको प्रत्याभूति हुने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम केन्द्रित हुनुपर्ने सांसद केसीले सुझाव दिए। अहिले दुई ठूला राजनीतिक दल मिलेर सरकार बनेको भन्दै मुलुकको स्थिर अर्थतन्त्र सुधार गर्न प्रभावकारी र ठोस योजना ल्याउनुपर्ने उनले उल्लेख गरे।

‘शिथिल अर्थतन्त्र सुधार्नका लागि आर्थिक कार्यक्रमबारे सरकारको नीति तथा कार्यक्रम बेखबर छ,’ केसीको आरोप छ, ‘डेढ महिनादेखि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त हुन नसक्नु अर्को दुःखद विषय हो। दुई तिहाईको सरकारले १० महिनासम्म एक तिहाई पनि पुँजीगत खर्च गर्न सकेको छैन।’

मुलुकको सार्वजनिक ऋण बढ्दै गएको, भष्ट्राचार निवारण हुन नसकेको, सुशासन कायम हुन नसकेको, मुलुकभित्र रोजगारी सिर्जना हुन नसकेकोलगायत समस्या विद्यमान रहेकाले नागरिक तहमा वितृष्णा बढेको पनि केसीले उल्लेख गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad