सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले स्वदेश आउनका लागि सीमामा आएका नागरिकलाई अलपत्र पार्न नहुने बताएका छन्।
नेपाल आउनका लागि सीमामा आइपुगेका नागरिक नेपाल भित्रिन नपाएका कारण अलपत्र परेको समाचार आएपछि प्रवक्ता श्रेष्ठले यस्तो प्रतिक्रिया दिएका हुन्।
विदेशमा रहेका नागरिलाई स्वदेश ल्याउन व्यवहारिक रुपले सम्भव नभए पनि सीमामा आइसकेका नागरिकलाई अलपत्र पार्न नहुने उनको मत छ।
उनले स्वदेश फर्कनका लागि सीमामा आइपुगेका नागरिकलाई कुनै व्यवस्थाबिनै सीमामा खुला आकासमा राख्नु व्यवहारिक नहुने बताएका छन्।
उनले सीमामा नागरिकलाई रोक्ने संघीय सरकारको नीति नभएको र यो हुनै नसक्ने बताएका छन्।
‘विदेशमा रहेका लाखौलाख नेपालीहरुलाई सरकारले अहिलेको सन्दर्भमा देशभित्र ल्याउन व्यवहारिकरुपमा सम्भव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सिमानामै खुला आकाशमुनि राखिराख्नु हुनै सक्दैन। सुन्नै नसकिने यो कुरा संघीय सरकारको नीति हो भनेर कसले भनेको वा व्याख्या गरेको? हुनै सक्दैन’, बिहीबार बिहान सामाजिक सञ्जाल ट्विटरमा प्रवक्ता श्रेष्ठले लेखेका छन्।
बिदेशमा रहेका लाखौलाख नेपालीहरुलाई सरकारले अहिलेको सन्दर्भमा देशभित्र ल्याउन ब्यबहारिकरुपमा सम्भव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सिमानामै खुला आकाशमुनि राखिराख्नु हुनै सक्दैन।सुन्नै नसकिने यो कुरा सँघीय सरकारको नीति हो भनेर कसले भनेको वा ब्यख्या गरेको?हुनै सक्दैन।
सरकारले भारतका विभिन्न स्थानबाट आएर सीमामा रोकिएका नागरिकहरुलाई अन्तिमपटक भन्दै यही चैत ११ गते नेपाल प्रवेश गराएको थियो।
त्यसपछिका ९ दिनमा भारतका विभिन्न स्थानबाट आएका नागरिकहरु सीमामा अलपत्र अवस्थामा रहेका छन्। दार्चुला, रुपैडिया, भैरहवा, रक्सौल, काँकडभिट्टा लगायतका सीमानाकामा नेपालीहरु स्वेदश प्रवेश गर्न नपाएर अलपत्र बनेका छन्।

प्रतिक्रिया