नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सीके राउत नेतृत्वको जनमत पार्टीसँग भोलि एकता हुन लागेको बताएकी छिन्। उनले पार्टी एकताकै निम्ति आफू सहअध्यक्ष बन्न राजी भएको समेत बताएकी छिन्।
‘म नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष हुँ, तर यो एकताको निम्ति म सह-अध्यक्ष बन्न राजी भएकी छु,’ श्रेष्ठले फेसबुकमा लेखेकी छिन्, ‘पदभन्दा ठूलो हो-जनताको भरोसा, बलिदानी र हामीले दिएका वाचा।’
यो निर्णयले केही साथीहरूलाई भावनात्मक रूपमा असर पर्न सक्ने भन्दै उनको आग्रह छ,‘हामी एक हौं, हाम्रो साझा बाटो अब एउटै छ।’
राउत निकै बौद्धिक र दूरदर्शी नेतृत्व रहेको भन्दै उनले अब राउतकै मार्गदर्शनमा जनताको पक्षमा काम गर्ने समेत उल्लेख गरेकी छिन्।
‘जनमत पार्टीका अध्यक्ष डा. सीके राउतज्यूजस्तो विद्वान, बौद्धिक र दूरदर्शी नेतृत्वसँग सहकार्य गर्नु हाम्रो साझा आन्दोलनको शक्ति र स्थायीत्वको आधार बन्नेछ भन्ने हामीलाई पूर्णविश्वास छ,’ उनले भनेकी छिन्, ‘उहाँप्रतिको हाम्रो आस्था र सम्मान अडिग छ र हामी उहाँको मार्गदर्शनमा जनताको पक्षमा निष्कलंकरूपमा काम गर्न तत्पर छौँ।’
पार्टी एकतापछि नागरिक जनमत नाम राखिने भएको छ भने चुनाव चिह्न ढकिया राखिने भएको छ। त्यस्तै रेशम चौधरी संरक्षक बन्ने छन् भने सीके राउत कार्यकारी र रञ्जिता श्रेष्ठ
सहअध्यक्ष बन्ने भएकी छिन्।
संसदमा राष्ट्रिय दल रहेको जनमतका ६ सांसद छन् भने नाउपाका ४ सांसद छन्। एकतापछि याे पार्टीका संघमा १० सांसद हुनेछन्।
सुदूरपश्चिम प्रदेशमा नाउपाका ७ सांसद छन्। मधेसमा जनमतका १३ र नाउपाका १ सांसद छन्।
एकतापछि १०७ सदस्यीय मधेस प्रदेशसभामा नाजपा १४ सांसदसहित चौथो दल बन्नेछ।
यस्तै, लुम्बिनीमा नाउपाका ४ र जनमतका ३ सांसद छन्। ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एकतापछि यो दल चौथो स्थानमा पुग्नेछ।
Shares

प्रतिक्रिया