प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको लगानी बोर्डको बैठकमा आज १९ वटा एजेन्डा प्रस्तुत भएका थिए। बैठकमा एजेन्डाबारे पहिला नै सबै सदस्यलाई बाँडिएको पनि थियो।
तर, प्रधानमन्त्री ओलीको व्यस्तताका कारण २ वटा एजेन्डामा मात्र छलफल भएको छ।
पहिलो एजेन्डामा आज यसअघि भए–गरेका निर्णयको कार्यान्वयनबारे सचिवालयले ‘ब्रिफिङ’ गर्ने उल्लेख थियो। त्यसैअनुसार, हालसम्मको प्रगति विवरण बोर्डले जानकारीमा लियो।
त्यसपछि बोर्डको नयाँ संठगन संरचना र रणनीतिक योजनाको खाका प्रस्तुत भयो। उक्त खाका बोर्डले स्वीकृत गरेको छ। बेलायत सरकारको सहयोगमा पीडब्ल्यूसी नामक परामर्शदाता संस्थाले बनाइदिएको उक्त खाकाअनुसार अब संगठन र व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम सर्वे) गर्न बोर्ड निर्देशन दिएको बैठकमा सहभागी एक अधिकारीले बताए।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आइतबार भएको बैठकले रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आवश्यक पर्ने संगठन संरचनाको खाकालाई स्वीकृत गरेको छ, जसले पाँच वर्षे उक्त रणनीतिले ४२ परियोजनाको सम्झौता गर्दै अधिकतम १४ परियोजना निर्माण, ११ परियोजना सञ्चालन तथा ९२ निजी लगानीका परियोजनाहरु लगानी स्वीकृत गर्ने लगायतका लक्ष्य लिएको छ।
हाल एक जना सहसचिव, ३ उपसचिव र ५ जना अधिकृत रहेको लगानी बोर्डमा अब ठूलो संख्यामा कर्मचारी थपिनेछन्। सचिवालयको नेतृत्व सचिवले गर्नेछन् र ४ वटा निर्देशनालयको नेतृत्व सहसिचवहरूले गर्नेछन्।
ती निर्देशनालयमातहत अरू शाखाहरू पनि रहनेछन्।
एकल विन्दु सेवा केन्द्रको अवधारणाअनुसार, उद्योग, वाणिज्य, भन्सार, राजस्व, नेपाल राष्ट्र बैंक लगायत लगानीसम्बद्ध निकायका प्रतिनिधिहरू त्यहाँ रहनेछन्।
तत्कालका लागि कर्मचारीहरू काज खटाउन सामान्य प्रशासन तथा अन्य मन्त्रालयहरूलाई लेखी पठाउने निर्णय पनि भएको छ।
बोर्डको बैठकले कर्मचारी खटाउने नियमावली तर्जुमा गरेर अर्को बैठकमा पेस गर्न पनि भनेको छ।
बाँकी १७ वटा एजेन्डाका लागि अर्को बैठक कहिले बस्ने भन्ने तय गरिएको छैन।
‘आज दुईवटा एजेन्डामा मात्र छलफल भयो,’ बैठकमा सहभागी एक उच्च अधिकारीले भने, ‘प्रधानमन्त्रीज्यूको व्यस्तताका कारण अन्य एजेन्डामा बैठक प्रवेश नै भएन।’
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी बैठकमा प्रधानमन्त्री ओली निकै ढिलो गरी पुगेका थिए।
बैठक प्रधानमन्त्री कार्यालयमै साँझ ४ बजे बोलाइएको थियो। ६ बजेपछि मात्र उनी बैठकमा प्रवेश गरेका थिए। २ वटा एजेन्डामा छलफल गरेपछि उनी हतार छ भन्दै उठेका थिए।
Shares

प्रतिक्रिया