संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गरिएको छ।
राष्ट्रिय सभाको आजको बैठकमा सभाका सचिव डा सुरेन्द्र अर्यालले सो विधेयक टेबल गरेका हुन्।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विभिन्न पत्रको बेहोरा वाचन गरेर सभासमक्ष जानकारी गराएका थिए। त्यसैगरी अध्यक्ष दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरासमेत जानकारी गराएका थिए।
आजको बैठकमा संविधानसभा सदस्य एवं प्रतिनिधि सभाका पूर्वसदस्य तीर्थराम डंगोल र प्रतिनिधि सभाका पूर्वसदस्य कमल कोइरालाको निधनमा राष्ट्रिय सभाले शोक प्रस्ताव पारित गरेको छ। सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पेस गरेको सो प्रस्ताव सर्वसम्मतिले पारित गरिएको हो। उनीहरूको निधनप्रति शोक प्रकट गर्दै एक मिनेट मौनधारण गरिएको थियो।
त्यसैगरी आजको सभाको बैठकमा पर्यटन विधेयक, २०८१ पेस गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सो विधेयकसभा समक्ष पेस गरे।
राष्ट्रिय सभाको अर्को बैठक शुक्रबार (वैशाख १९ गते) अपरान्ह १ बजे र १५ मिनेटमा बस्ने छ।
Shares

प्रतिक्रिया