काठमाडौँ महानगरपालिकाकी उपप्रमुख (उपमेयर) सुनीता डंगोलले ‘स्टन्ट गरेर देश बन्दैन’ भनेपछि धेरैले उनको यो कटाक्ष आफ्नै प्रमुख अर्थात् मेयर बालेन्द्र शाह ‘बालेन’प्रति लक्षित रहेको लख काटेका छन्।
सत्तारुढ नेकपा एमालेले बिहीबार काठमाडौँमा आयोजना गरेको युवा ‘सेलिब्रेसन’लाई सम्बोधन गर्दै उपमेयर डंगोलले भनिन्, ‘अहिले हामी देख्छौँ– धेरैले स्टन्ट गर्नुहुन्छ तर, स्टन्ट गरेर देश बन्दैन। देश बनाउने हो भने योजनाअनुरूप काम गर्नुपर्छ। काममा इमान्दारिता हुनुपर्छ। हामी भिजन पछ्याउँछौँ, ट्रेन्ड पछ्याउँदैनौँ। हल्लाको पछि हामी लाग्दैनौँ। त्यसकारण हामी स्टन्ट गर्ने युवा होइन, काम गर्ने युवा बनौँ।’
यसैबीच यस विषयमा धरानका मेयर हर्क साम्पाङले सुनीताविरुद्ध सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्।
स्मरण रहोस्, बालेन र हर्क दुवै स्वतन्त्र उम्मेदवार बनेर मेयरमा विजयी व्यक्ति हुन् भने सुनीता नेकपा एमालेबाट उपमेयर बनेकी हुन्।
मेयर साम्पाङले बालेन नबोल्ने भएकाले सुनीताले हेपेको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमा साम्पाङ लेख्छन्, ‘सुनीताजी, बालेनजी बोल्दैनन् भनेर कति हेपेको हौ? स्टन्ट त काठमाडौँमा होइन, धरानमा हुन्छ। एक दिन हेर्न आउनु नि! स्टन्ट गरेरै वर्ल्ड रेकर्ड राखिदियौँ हाम्ले! तपाईंको पार्टीले नि यस्तो स्टन्ट गर्द्या भए न म आउँथेँ न बालेन।’

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई महानगरपालिका फिर्ता ल्याउने विषयमा पनि उपमेयर डंगोल र मेयर बालेनबीच मतभेद देखिएको थियो। बालेन गुरागाईंलाई महानगरपालिकामा ल्याउनै हुँदैन भन्ने पक्षमा थिए तर डंगोलकै नेतृत्वमा उनलाई गत चैत २२ गते बलपूर्वक कार्यालय भित्र्याइएको थियो।
पुस ७ देखि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको पुनरागमनसँगै काठमाडौँ महानगरपालिकाका कर्मचारीले ३ महिनादेखि रोकिएको तलब पाएका थिए।
Shares

प्रतिक्रिया