राजनीति


कम्युनिस्टहरू कम्युनिस्टजस्तो नभएकै कारण आन्दोलन रक्षात्मक अवस्थामा छ : महामन्त्री सिंह

कम्युनिस्टहरू कम्युनिस्टजस्तो नभएकै कारण आन्दोलन रक्षात्मक अवस्थामा छ : महामन्त्री सिंह

नेपालखबर
बैशाख ९, २०८२ मंगलबार २१:४६, काठमाडौँ

नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले कम्युनिस्टहरू कम्युनिस्टजस्तो नभएकै कारण नेपालको र विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बताएका छन्।

सर्वहारा वर्गका नेता भ्लादिमिर इल्यिच उल्यानोभ (लेनिन)को एक सय १५६औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा नेकपा (मसाल) ले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सिंहले सो धारणा राखेका हुन्।

महामन्त्री सिंहले कम्युनिस्टहरू वास्तविक कम्युनिस्ट हुनुपर्ने, त्यसका लागि सबैभन्दा बढी दर्शनमा जोड दिनुपर्ने धारणा राखे।

नेपालमा कम्युनिस्ट कम्युनिस्टजस्तो नरहेको बताउँदै उनले इतिहासमा केशरजङ्ग रायमाझीले राजावादी लाइन समातेजस्तै हाल सीपी मैनालीको अभिव्यक्ति त्यही प्रकारको रहेको बताए।

‘नेपालमा डा. केशरजङ्ग रायमाझीले पनि राजावादी लाइन समातिसकेपछि पनि लामो समयसम्म आफूलाई सच्चा कम्युनिस्ट भएको नै दाबी गर्दथे तर पछि उनले कम्युनिस्ट पार्टीको विघटन गरेर आफ्नो सक्कली रूप प्रदर्शन गरे’ सिंहले भने, ‘अहिले नेपालका पनि कतिपय समूहले आफूलाई कम्युनिस्ट आन्दोलनको मूलधार नै भएको दाबी गर्दछन्। उनीहरूले आफ्नो सदस्यको ठूलो सङ्ख्या सङ्गठनको ठूलो आकार वा संसद वा सत्तामा समेत महत्त्वपूर्ण स्थान भएको आधारमा त्यस प्रकारको दाबी गर्दछन् र उनीहरू त्यसरी आम जनता मात्र होइन, वामपन्थी जगत्मा पनि ठूलो भ्रम दिन सफल भएका छन्।’

सिंहले पछिल्लो समय गणतन्त्र र राष्ट्रियतामाथि समेत खतरा उत्पन्न भएको भन्दै जनआन्दोलनबाट प्राप्त उपलब्धि जोगाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीको सत्तामा पुगेका कम्युनिस्ट नामका पार्टीको चिन्तन र क्रियाकलापका कारण देश यस्तो अवस्थामा पुगेका बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad