राजनीति


शिक्षकका समस्यालाई हल्का रूपमा नलिनू, गम्भीर परिणाम भोग्नुपर्ला : प्रचण्ड

शिक्षकका समस्यालाई हल्का रूपमा नलिनू, गम्भीर परिणाम भोग्नुपर्ला : प्रचण्ड

नेपालखबर
बैशाख ९, २०८२ मंगलबार १६:१०, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शिक्षकहरूका समस्यालाई हल्का रूपमा नलिन सरकारलाई ध्यानाकर्षण गराएका छन्।

मंगलबार काठमाडौँमा आयोजित नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवस तथा १५६ औँ लेनिन जयन्तीको अवसरमा उहाँले यस्तो बताएका हुन्।

अध्यक्ष दाहालले हजारौँ शिक्षकहरू सडकमा हुँदा पनि सरकारले शिक्षकहरूको समस्याको समाधानप्रति गम्भीर नभएको आरोप लगाए। उनले  शिक्षकका माग सम्बोधन गर्नुपर्नेमा प्रधानमन्त्रीले नै शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने र हप्काउने काम गर्नु लाजमर्दो भएको बताए।

पूर्वप्रधानमन्त्री दाहालले देशभरका लाखौँ शिक्षक र विद्यालयहरू सङ्कटमा रहँदा पनि सरकारले त्यसको सम्बोधनमा तत्परता र सक्रियता नदेखाउनु दुःखद् भएको बताए।

अध्यक्ष दाहालले भने, ‘हजारौँ/लाखौँ शिक्षकहरू सडकमा छन्, ती शिक्षकहरूको समस्याको समाधानप्रति गम्भीर हुनुको सट्टा सरकार र सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने र हप्काउने बाहेक केही पनि गर्नुभएको छैन। यो भन्दा लाजमर्दो कुरा के हुन्छ? लाखौँ शिक्षक र देशभरिका विद्यालयहरू सङ्कटमा छन्। त्यसलाई समाधान गर्न तत्परता र सक्रियताका साथ वार्ता गर्ने र प्रतिफल निकाल्नुको सट्टा सरकार प्रमुख नै शिक्षकहरूलाई अपमानित गर्ने लाजमर्दो स्थिति देखिएको छ।’

अध्यक्ष दाहालले शिक्षकहरूलाई अपमान गर्न बन्द गरेर तुरुन्तै घनिभुत तरिकाले वार्ता संवाद गरेर हल गर्न सरकारलाई आग्रह गरे। उनले आफू प्रधानमन्त्री हुँदा धेरै मेहनत गरेर विधेयकलाई सदनमा पुर्‍याएको बताउँदै उपसमितिमा छलफलमा रहेको विधेयकलाई टुङ्ग्याउन सरकारको खबरदारी समेत गरे।

उनले भने, ‘सरकारले शिक्षकहरूलाई अपमान बन्द गरेर तुरुन्तै घनिभुत तरिकाले वार्ता संवाद गरेर हल गर्न कोशिस गरोस्। शिक्षकहरूको मुख्य समस्या भनेको ऐन निर्माणको कुरा हो, मैले धेरै मिहिनेत गरेर विधेयकलाई सदनमा पु¥याएको छु। उपसमितिमा छलफलमा छ। त्यसलाई टुङ्ग्याउने विषयमा शिक्षकहरूसँग बसेर किन कुरा गरिँदैन? किन शिक्षकहरूलाई अपमानित गरिँदैछ? म गम्भीर रूपमा ध्यानाकर्षण र खबरदारी गर्न चाहन्छु, हल्का रूपमा शिक्षकहरूको समस्यालाई नलियोस्।’

उनले शिक्षकहरूसहित चिकित्सकहरू, नर्सहरू, लघुवित्त पीडितहरू महिनौँदेखि सडक आन्दोलनमा उत्रिएको बताउँदै उनीहरूका मागलाई तत्काल सम्बोधन नगरे सरकारले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad