पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुको मागलाई कुल्चिएर हिँडिरहेको आरोप लगाएका छन्।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले कम्युनिष्ट पार्टीका नेता प्रधानमन्त्री भएको बेलामा शिक्षकहरू सडकमा रहेको र शिक्षकका मागहरू कुल्चिएर प्रधानमन्त्री हिँडेको आरोप लगाए। उनले सरकारको मन्त्रीले राजीनामा दिनु झनै दुःखद् भएको बताए।
उनले शिक्षकका मागहरू सम्बोधन गर्नुपर्ने पक्षमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई रहे पनि प्रधानमन्त्री ओलीले माग सम्बोधन नगरिदिँदा राजीनामा दिन विवश भएको आरोप लगाए। शिक्षामा प्रगतिशील परिवर्तनको कुरा कहाँ गयो? भन्दै प्रश्न गरे।
पूर्वप्रधानमन्त्री खनालले अहिलेका नेतृत्वहरुसँग जनता रिसाएको र रिसाएका जनताले के गर्छन् भन्नेकुरा सोच्न नसकिने बताए।
नेता खनालले भने, ‘कम्युनिष्ट पार्टीका एउटा नेता यो देशको प्रधानमन्त्री छन्। यो देशका झन्डै अढाइ लाख शिक्षकहरु अहिले आन्दोलनमा छन्। सडकमा छन्। तर ति शिक्षकहरुको मागलाई कुल्चिएर यो देशको प्रधानमन्त्री हिँडेका छन्। अझ आश्चर्यको कुरा के छ भने यही क्याबिनेटको शिक्षामन्त्रीले राजीनामा दिन विवश हुनुपरेको छ। उनी शिक्षकहरुको माग अलिकति सम्बोधन गरौँ भन्ने, प्रधानमन्त्री नटेर्ने, त्यो बाध्यतामा शिक्षामन्त्रीले राजीनामा दिनुपर्यो। हामीले शिक्षामा प्रगतिशील परिवर्तन गर्छौं भनेका थियौँ। कुरा कहाँ गयो।’
Shares

प्रतिक्रिया