राजनीति


संक्रमण उच्च विन्दुमा पुग्दै गर्दा ट्रम्पले भने : कोरोना भाइरससँग जुध्न अमेरिका सक्षम छ

संक्रमण उच्च विन्दुमा पुग्दै गर्दा ट्रम्पले भने : कोरोना भाइरससँग जुध्न अमेरिका सक्षम छ

नेपालखबर
चैत १८, २०७६ मंगलबार १:५७,

कोरोना भाइरसको महामारी उच्च विन्दुमा पुग्दै गर्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना विरुद्ध लड्न अमेरिका सक्षम रहेको दाबी गरेका छन्।

ह्वाइटहाउसमा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘अहिले हामीकहाँ कम्तीमा १० कम्पनीले भेन्टिलेटर बनाइरहेका छन्, ‘हामी अन्य राज्यलाई भेन्टिलेटर र अरू स्वास्थ्य सामग्री पठाउन सक्ने अवस्थामा पुग्दैछौँ।’

कोरोना भाइरसका कारण अमेरिकामा दुई लाखको मृत्यु हुन सक्ने चेतावनी विज्ञहरुले दिइरहेका छन्।

ट्रम्पका अनुसार अहिलेसम्म विभिन्न राज्यलाई आठ हजार एक सय भेन्टिलेटर निर्माण गरेर पठाइसकिएको छ।

मिसिगनमा थप चार सय, न्यूजर्सीमा तीन सय, इलिनोइ र लुजिआना प्रत्येकमा १५० र कनेटिकटमा ५० को सङ्ख्यामा भेन्टिलेटर पठाइने ट्रम्पले उल्लेख गरे।

एक दिनअघि भने ट्रम्पले राज्यका गभर्नरहरूलाई महत्त्वपूर्ण स्वास्थ्य उपकरण लुकाएर राखेको आरोप लगाएका थिए।

‘केही राज्यहरूले आफूलाई चाहिनेभन्दा बढी सामग्री थुपारेर राखेका छन्,’ सोमबारको पत्रकार सम्मेलनमा पनि ट्रम्पले आफ्नो सोही भनाई दोहोर्याएका बीबीसीले जनाएको छ।

फोर्ड मोटर कम्पनीले सय दिनभित्रै ५० हजार नयाँ भेन्टिलेटरहरू बनाउने ट्रम्पको भनाइ छ।

राष्ट्रपति ट्रम्पले अमेरिकालाई चाहिनेभन्दा बढी उत्पादन भएपछि त्यस्ता उपकरणहरू देशबाहिर पठाउने आफ्नो योजना समेत सुनाए। सामग्री पठाइने देशमा उनले उच्च प्रभावित इटली, फ्रान्स र स्पेनको नाम लिएका थिए।

इटलीमा १० करोड डलर बराबरका सर्जिकल र मेडिकल सामग्री पठाइने उनले बताए।

उनले अहिलेसम्म अमेरिकामा १० लाख भन्दा बढीमा भाइरस जाँच गरिएको भन्दै त्यो अन्य कुनै पनि देशमा भन्दा बढी रहेको दाबी गरे।

अमेरिकामा गएको २४ घन्टामा कोरोना संक्रमणबाट पाँच सय ६५ जनाको मृत्यु भएको छ।

त्यहाँ हिजो एकैदिन करिब २० हजार नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा संक्रमितको संख्या १ लाख ६३ हजार ४ सय ७९ पुगेको छ।

त्यहाँ कोरोना संक्रमणबाट अहिलेसम्म ३१ सय ४१ जनाको मृत्यु भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad