रूपन्देहीको बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालको आइसोलेसनमा उपचार गर्दागर्दै मृत्यु भएका एक युवकको नमुना परीक्षणको नतिजा नेगेटिभ अर्थात् कोरोना भाइरस नभएको आइसकेको छ।
काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ती युवकको मृत्यु भएको भोलिपल्ट अर्थात् सोमबार उनको स्वाब परीक्षणको रिपोर्ट सार्वजनिक गरेको हो। जसमा कोरोना भाइरस नरहेको पुष्टि गरिएको छ।
यसैका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि ती ३४ वर्षीय युवकको मृत्यु कोरोनाले नभएर अन्य रोगकै कारण भएको जानकारी सोमबारै गराइसकेको छ।
त्यसो भए उनको मृत्यु कुन रोगका कारण भएको हो त?
मंगलबार बिहान नेपालखबरले राखेको प्रश्नमा सम्बन्धित अस्पताल अर्थात् बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले रिपोर्ट नेगेटिभ आए पनि उनमा कोरोना भाइरस थिएन नै भन्ने ठोकुवा गर्न नसकिने बताए।
‘रिपोर्टमा त कोरोना भाइरस नभएको देखाइयो,’ टेलिफोनमा नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘उनमा जुन खालका जटिल लक्षण देखिएका थिए, त्यस आधारमा चाहिँ मलाई अझै शंकै छ।’
भनाइको अर्थ उनको मृत्यु कोरोना भाइरसको संक्रमणले भएको होइन भन्ने ग्यारेन्टी गर्न सकिन्न।
डा. थापाका अनुसार अहिले कोरोना भाइरस पत्ता लगाउन अपनाइएकाे विधि हाे- पीसीआर। जसबाट कोरोना परीक्षण नतिजा सही देखिने सम्भावना ३० देखि ६० प्रतिशतसम्म मात्रै हुन्छ।
भनाइको अर्थ १०० बिरामीमध्ये ३० देखि ६० जनासम्मको नमुनामा मात्रै यो भाइरस देखाउन सक्छ बाँकी अर्थात् ४० देखि ७० जनासम्मको स्वाबमा भाइरस भए पनि नदेखाउन सक्छ।
यो त तपाईंले नेपालको कोरोना परीक्षण प्रणालीलाई नै चुनौती दिनुभयो नि त?
‘यो मैले नेपालको मात्रै भनेको होइन,’ उनले भने, ‘यो अहिले संसारभरि नै अपनाइएको विधि हो, त्यसमा हाम्रो नेपालको प्रविधि, सतर्कता र व्यवस्थापनका हिसाबले भाइरस नदेखिने दायरा अझ बढ्न सक्ने देखिन्छ।’
उनका अनुसार टीसीआर विधिबाट भाइरस पत्ता लाग्ने सम्भावना जसरी सयमा सय छैन, त्यसमाथि पनि हाम्रो नेपालमा बिरामीको नमुना काठमाडौंसम्म पुर्याउँदा र त्यहाँको व्यवस्थापनले अपनाउने सतर्कतालगायत कारणले कोरोना भए पनि पत्ता लाग्ने स्थिति अझ कमजोर देखिन्छ।
उनका अनुसार विदेशमा एकै व्यक्तिको कोरोना परीक्षण तीन/चार चोटिसम्म गर्ने गरिन्छ। अनि हरेक पटक नेगेटिभ रिपोर्ट आए पनि शंकास्पद अवस्थाका बिरामीलाई तुरुन्तै डिस्चार्ज गरिँदैन।
‘तर हाम्रोमा त एक पटक नेगेटिभ आउनेबित्तिकै ढुक्क हुने चलन छ,’ उनले भने, ‘यो गलत छ।’
उनका अनुसार त्यसरी एकै बिरामीकाे नमुना तीन/चार चाेटि परीक्षण गर्न हामीकहाँ स्राेत/साधनकाे पनि कमी छ।
यसर्थ बुटवलमा कोरोना भाइरस संक्रमण आशंकामा जुन युवकलाई कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो, उनको मृत्यु कोरोना होइन भनेर ढुक्क हुने स्थिति छैन।
सुरुदेखि नै ती युवकको अवस्था प्रत्यक्ष अवलोकन गरिरहेका डा. थापा भन्छन्, ‘उनमा जुन खालका लक्षण थिए, त्यसमा उनी कोरोना संक्रमण नै थिए भन्ने मेरो अनुमान छ। तसर्थ रिपोर्ट नेगेटिभ आए पनि मलाई उनको मृत्युको कारण कोरोना थिएन भन्नेमा शंका छ।’
तसर्थ रिपोर्ट नेगेटिभ आयो भनेर ढुक्कसाथ बस्न मिल्दैन,’ उनले भने, ‘सम्बन्धित व्यक्तिहरूले अझै सतर्कता अपनाउनैपर्ने हुन्छ।’
डा. थापाका अनुसार कोरोना भाइरसको संक्रमण छ कि छैन भरेर निश्चित गर्ने प्रविधि भनेको सीटी स्क्यान हो। जुन हाम्रो देशमा पहिलेदेखि नै अभाव छ।
‘कोरोना शंकाका बिरामीको सीटी स्क्यान गराउन त झन् यहाँ सम्भवै देखिन्न,’ डा. थापाले भने, ‘यसका लागि अन्य बिरामीको सीटी स्क्यान रोक्नुपर्ने हुन्छ, अस्पताल खाली गराउनुपर्ने हुन्छ, जसले गर्दा सम्भवै देखिन्न।’
तसर्थ अहिलेलाई लक्षणका आधारमा सतर्क रहनु र क्वारेन्टिनमा रहनु नै यसबाट बच्ने उत्तम उपाय भएको उनी बताउँछन्।
याे पनि :
बुटवलमा मृत्यु भएका युवकको नमुना परीक्षणको नतिजा: कोरोना रहेनछ
Shares

प्रतिक्रिया