राजनीति


१५ महिनापछि शेरबहादुर देउवालाई सरकार हस्तान्तरण गर्छु: प्रधानमन्त्री ओली

१५ महिनापछि शेरबहादुर देउवालाई सरकार हस्तान्तरण गर्छु: प्रधानमन्त्री ओली

नेपालखबर
चैत २६, २०८१ मंगलबार १७:५४, काठमाडौँ

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १५ महिनापछि सत्ताको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताएका छन्।  मंगलबार पार्टीको सिरहा जिल्लाको ११औँ अधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले १५ महिनापछि सरकारको नेतृत्व देउवालाई हस्तान्तरण गर्ने बताएका हुन्।  

'एमाले र कांग्रेसजस्ता पुराना र ठूला पार्टीको सरकारले यो संविधान र व्यवस्थाको रक्षा गर्दै जनतालाई समृद्धि र सुशासन दिएर छाड्छ,' उनले भने, 'यो सरकार चुनावसम्म टसमस हुँदैन। अबको १५ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई म हस्तान्तरण गर्छु। सरकार अहिले ढल्छ, भरे ढल्छ भन्नेहरु अब थाके। यो मजबुत सरकार हो।'

त्यस्तै उनले प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन नसक्ने बताएका छन्।  उनले देश र जनताको हितबाहेक एमालेसँग अरु कुनै स्वार्थ नभएकाले देश जोगाउने पार्टी एमाले भएको बताए। उनले आम कार्यकर्ता र शुभेच्कुहरुले एमाले विरोधी भुलभुलैयामा नलाग्न आग्रह गरे। 

'हाम्रो पार्टीलाई कसैले भित्तामा राख्छौँ भने, कसैले धुलो चटाउँछौँ भने, कसैले के भने तर एमालेलाई कसैले हल्लाउन सक्दैन भन्ने कुरा हामीप्रति जनताको उत्साहबाट स्पष्ट हुन्छ,' उनले भने, 'मैले विगतमा प्रधानमन्त्री हुँदा सुनकोसी मरिन डाइभर्सन, हुलाकी राजमार्ग, शिक्षा र स्वास्थ्यमा सुधारका कार्यक्रम सुरु गरेँ। मधेसका समस्याहरू मलाई बढी थाहा छ। तिनको समाधानका लागि केन्द्र सरकारको तर्फबाट गर्नुपर्ने कुराहरुमा सरकार प्रतिबद्ध रहेको कुरा आजै मैले मधेस प्रदेशसभाको सम्बोधनमा स्पष्ट गरिसकेको छु ।'

प्रधानमन्त्री ओलीले राजतन्त्र फर्कन्छ भन्ने कसैको सपना पूरा नहुने भन्दै गर्दै यही चैत १५ गतेको अराजक गतिविधिबाट राजतन्त्र पक्षधरको वास्तविकता देखिसकिएकाले आगजनी र तोडफोड गर्ने मान्छेहरुका हातमा शासन नजाने र दिन नहुने बताए।

'तपाईँहरु ढुक्क हुनुस्। राजतन्त्र कुनै हालतमा फर्कँदैन' उनले भने।   
  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad