राजनीति


आन्दोलनरत शिक्षकलाई वार्तामा आउन शिक्षा मन्त्रालयको आह्वान

आन्दोलनरत शिक्षकलाई वार्तामा आउन शिक्षा मन्त्रालयको आह्वान

नेपालखबर
चैत २६, २०८१ मंगलबार १७:१५, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत नेपाल शिक्षक महासंघलाई वार्तामा आउन आह्वान गरेको छ।

मंगलबार विज्ञप्ति प्रकाशित गरी मन्त्रालयले २७ गते वार्ताका लागि महासंघलाई आह्वान गरेको हो।

मन्त्रालयले २७ गतेका दिन वार्ता र संवादका लागि राहत एवम् अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतका सबै शिक्षक-कर्मचारीको प्रतिनिधित्व हुनेगरी उपस्थित हुनका लागि नेपाल शिक्षक महासंघलाई पुनः आमन्त्रण गरिएको जनाएको छ।

नेपाल शिक्षक महासंघले विगतमा भएको सहमति कार्यान्वयन गर्न र विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेको छ भने चैत २५ देखि शिक्षकहरू अनिश्चितकालीन शैक्षिक हड्तालमा उत्रिएका छन्।

यो अवधिमा मन्त्रालयले चैत २१ र २२ गते शिक्षक महासंघलाई वार्तामा बोलाएपनि महासंघले अस्वीकार गरेको थियो।

‘त्यसका बाबजुद हालसम्म यस मन्त्रालयसँग औपचारिक रूपमा त्यस्तो छलफल तथा परामर्श सकेन र हालसम्म पनि ध्यानाकर्षण कार्यक्रम निरन्तर नै रहेको सन्दर्भमा यस मन्त्रालयमा भोलि मिति २०८१/१२/२७ गतेका दिन वार्ता र संवादका लागि राहत एवम् अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतका सबै शिक्षक(कर्मचारीको प्रतिनिधित्व हुनेगरी उपस्थित हुनका लागि नेपाल शिक्षक महासंघलाई पुनः आमन्त्रण गरिन्छ’ मन्त्रालयले भनेको छ।

साथै, वार्ता र संवादको समय तालिका आपसी सल्लाह अनुसार तय गरिने मन्त्रालयका प्रवक्ता एवम् सहसचिव शिवकुमार साकाद्वारा जारी पत्रमा उल्लेख छ।

विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधि सभामा विचाराधीन छ। उक्त विधेयक संसदको चालु अधिवेशनबाटै पारित गर्ने भनेपनि अगाडि बढ्न सकेको थिएन।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad