राजनीति


रवीन्द्र र धवल पक्राउ प्रकरणमा राप्रपाले लियो इख

रवीन्द्र र धवल पक्राउ प्रकरणमा राप्रपाले लियो इख

नेपालखबर
चैत २६, २०८१ मंगलबार १६:१७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा प्रहरी हिरासतमा छन्। चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको प्रदर्शनलाई हिंसात्मक बनाएको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। 

तीनकुनेमा राप्रपा पनि सहभागी भएको प्रदर्शनको कमान्डर थिए दुर्गा प्रसाईं। उनी अहिले फरार छन्। यता राप्रपा आफैँ आयोजक बनेर आज काठमाडौँको बल्खुमा बृहत् खबरदारी सभा गर्‍यो। उक्त सभालाई पार्टीका शीर्ष नेताले सम्बोधन गरे। 

सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरू मिश्र र राणा पक्राउ गरिएको विषयलाई इखको रुपमा लिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई चेतावनी दिए। 

उनले उक्त प्रदर्शनको विषयमा न्यायीक छानबिन समिति गठनको पनि माग गरे।
  

'चैत १५ गतेको घटनाको निष्पक्ष छानबिन हुनुपर्‍यो। न्यायिक आयोग गठन हुनुपर्‍यो। यो सरकारका कारिन्दाहरूको आयोग होइन, सर्वाेच्चको पूर्वन्यायाधीश, नागरिक समाज र मानवअधिकारको क्षेत्रमा काम गर्ने मानिसहरूको स्वतन्त्र र निष्पक्ष आयोग गठन होस्,' उनले भने, 'छानबिन होस् दोषी को हो? त्यो सार्वजनिक होस्, दोषीलाई सजाए होस् भन्ने म चाहन्छु। तपाईँ गणतन्त्रको कुरा गर्ने, लोकतन्त्रको कुरा गर्ने तर, तपाईँसँग फरक मत राखेकै कारण मानिसहरूलाई प्रहरी हिरासतमा जुन अपमानजनक राख्नुभएको छ नि त्यसलाई हामीले इखको रुपमा लिएका छौँ।'

सांसदसमेत रहेका महामन्त्री राणालाई पक्राउ गरिएकोमा उनले आपत्ति जनाए। 

'हाम्रो चुनाव जितेको जनताको प्रतिनिधिलाई तपाईँले त्यो खोरमा जसरी अपमानित ढंगले राख्नुभएको छ,' उनले भने, 'हाम्रो पार्टीको उपाध्यक्षलाई जसरी खोरमा अपमानित ढंगले राख्नुभएको छ, हत्कडी लगाएर दुनियाँलाई देखिस् भनेर हिँडाउनुभएको छ त्यसले हामी होच्चिएका छैनौँ। त्यसलाई इखका रुपमा लिएका छौँ। इखका रुपमा।'

देशमा राजा चाहिन्छ भन्ने आफ्ना नेतालाई थुनेको भन्दै उनले आफूहरूलाई पनि थुन्न चुनौती दिए। 'राजा चाहिन्छ भनेर यहाँहरूले थुन्नुभएको हो भने हामी लाखौँ मानिस थुनिन तयार छौँ,' उनले भने, 'याद राख्नुस्- तपाईँहरूले आफू बस्ने जेल पनि राम्रो बनाएर राख्नुस्। त्यो दिन आउँछ, आउँछ।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad