प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच बहुप्रतिक्षित एक्लाएक्लै भेटवार्ता भएको छ।
प्रधानमन्त्री सचिवालयका एक अधिकारीले नेपालखबरलाई बताएअनुसार भेट बैंककस्थित मोदी बसेकै होटल म्यान्डारिन ओरियन्टलमा भएको हो। ती अधिकारीका अनुसार ३५ मिनेटसम्म एक्लाएक्लै भेट भएको थियो।
गत मंगलबार (चैत १९ गते) बैंकक प्रस्थान गरेका प्रधानमन्त्री ओलीले २० गते त्यहाँका समकक्षी पे थोङ थान् शिनावातसँग द्विपक्षीय औपचारिक वार्ता गरेका थिए।
बिहीबार बिहान व्यवसायीहरूको टोलीसँग भेटेका उनले दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी)मा सम्बोधन गरे। साँझ बिमस्टेक शिखर सम्मेलनका नेताहरूका लागि आयोजित रात्रिभोजमा सहभागी भए। आज बिमस्टेक सम्मेलनमा सहभागी र सम्बोधन गरे।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने हिजो बिहीबार मात्र बैंकक पुगेका हुन्।
यसअघि प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका बेला भेटवार्ता भएको थियो। नेपालका तर्फबाट प्रधानमन्त्री ओलीले उनलाई भ्रमणको निम्तो पनि दिएका थिए।
अहिलेसम्म न मोदीलाई नेपाल भ्रमण गराउने प्रयास सफल भएको छ न त ओलीले भारत भ्रमणको निम्तो पाएका छन्।
यसबीचमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा तीनपटक भारत गइसकेकी छन्। दुई प्रधानमन्त्रीबीचको ‘चिसोपना’ मेटाउन राणाका यी भ्रमण फलदायी हुन सकिरहेका छैनन्।
Shares

प्रतिक्रिया