प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरूबीच थाइल्याण्डमा भेट भएको हो।
भेट बैंककस्थित म्यान्डारिन ओरियन्टल होटलमा भएको हो। यो त्यही होटल हो, जहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बसेका छन्।
प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल भने ब्यांककस्थित सांग्रिला होटलमा बसेको छ। मोदीसहितको भारतीय प्रतिनिधिमण्डल रहेको ओरेन्टल होटल नेपाली प्रतिनिधिमण्डल रहेको सांग्रिला होटलबाट करिब १५ मिनेटको दूरीमा छ।
गत मंगलबार (चैत १९ गते) बैंकक प्रस्थान गरेका प्रधानमन्त्री ओलीले २० गते त्यहाँका समकक्षी पे थोङ थान् शिनावातसँग द्विपक्षीय औपचारिक वार्ता गरेका थिए।

बिहीबार बिहान व्यवसायीहरूको टोलीसँग भेटेका उनले दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी)मा सम्बोधन गरे। साँझ बिमस्टेक शिखर सम्मेलनका नेताहरूका लागि आयोजित रात्रिभोजमा सहभागी भए। आज बिमस्टेक सम्मेलनमा सहभागी र सम्बोधन गरे।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने हिजो बिहीबार मात्र बैंकक पुगेका हुन्। यसै मेसोमा उनी पुनः निर्वाचित भएर आएपछिको पहिलो श्रीलंका भ्रमण पनि गर्ने तयारीमा छन्।
यसअघि प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका बेला भेटवार्ता भएको थियो। नेपालका तर्फबाट प्रधानमन्त्री ओलीले उनलाई भ्रमणको निम्तो पनि दिएका थिए।
अहिलेसम्म न मोदीलाई नेपाल भ्रमण गराउने प्रयास सफल भएको छ न त ओलीले भारत भ्रमणको निम्तो पाएका छन्।
यसबीचमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा तीनपटक भारत गइसकेकी छन्। दुई प्रधानमन्त्रीबीचको ‘चिसोपना’ मेटाउन राणाका यी भ्रमण फलदायी हुन सकिरहेका छैनन्।
Shares

प्रतिक्रिया