चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’ अभिनेत्री सुपुष्पा भट्ट केही फरक चरित्रमा देखिँदैछिन्। फिल्म ‘रणवीर’बाट फिल्मी करियर सुरु गरेकी ‘फेरि रेशम फिलिली’ सम्म आइपुग्दा प्रायः चञ्चले चरित्र निभाइन्। यस फिल्ममा केही फरक भूमिकामा देखिएकी उनी यस फिल्ममा ‘बिहानी’ पात्रमा देखिँदैछिन्।
‘बिहानी विधवा छे र इनोनसेन्ट छे। बिहानी कसरी विधवा हुन्छे भन्ने थाहा पाउन फिल्म नै हेर्नुपर्छ’, सुपुष्पा भन्छिन्,‘मैले गर्न खोजेको क्यारेक्टर पिताम्बरमा छ। यो क्यारेक्टरमा फेज र ग्राफ छ। कहाँदेखि कहाँसम्म के भइरहेको छ भन्ने बिहानीमार्फत थाहा पाइन्छ।’
सुपुष्पाको डेब्यू फिल्म ‘रणवीर’ एक्सन बेसमा नै थियो। ‘रणवीर र पिताम्बरको जनरा एउटै भए पनि कथा फरक छ । मेरो क्यारेक्टरमा बिल्कुलै फरकपन पाउनुहुनेछ’, उनी भन्छिन् ।
फिल्मका सह–निर्माता पुरुषोत्तम प्रधानले बोलाएर स्क्रिप्ट सुनाएपछि उनी फिल्ममा काम गर्न सहमत भएकी रहिछन्। ‘यो फिल्ममा काम गर्छु भनेर पहिले नै योजना थिएन। स्क्रिप्ट सुनेपछि नाइँ भन्न सकिनँ। वान लाइन र मेरो क्यारेक्टरले तान्यो’, सुपुष्पा खुल्छिन्।
सुपुष्पाले ‘पिताम्बर’मा अभिनय गरेपछि विधवाको जीवनलाई केही बुझेकी रहिछन्।
‘नेपाली समाजमा बसिसकेपछि विधवाको जीवन बाँच्न गाह्रो हुँदो रहेछ। आफूलाई माया गर्ने मान्छे नै नहुँदा गाह्रो पक्कै हुन्छ। यो फिल्ममा काम गरेपछि मैले केही बुझें। अहिले त महिलाहरुले आफ्नो स्ट्याण्ड लिनुभएको छ। उहाँहरु माथि पनि आइरहनुभएको छ’, उनी भन्छिन्।
उनी मल्टिस्टार फिल्म ‘पिताम्बर’मा जोडिन पाउनु आफ्नो लागि भाग्यशाली ठान्छिन्।
सुपुष्पाको बुझाईमा राम्रो भिजन भएको मान्छेले फिल्म बनाउन सजिलो हुन्छ।
‘महिला र पुरुष निर्देशक भन्दा पनि निर्देशक भनेको निर्देशक नै हो। राम्रो भिजन भएको मान्छेले फिल्म बनाउन सजिलो हुन्छ। आफ्नो भिजन बुझेको र कस्तो फिल्म बनाउने भन्ने थाहा पाएको निर्देशकसँग काम गर्न पाएँ। मलाई धेरै सजिलो भयो’, उनी भन्छिन्।
सुपुष्पालाई एक्सन फिल्ममा काम गर्न मन रहेछ। ‘एक्सन फिल्ममा आफैले एक्सन गर्न मन छ। यो पहिलोदेखि कै इच्छा हो। त्यस्तो फिल्मको अफर आयो भनेर स्क्रिप्ट र आफ्नो क्यारेक्टर हेरेर निर्णय लिन्छु’,उनले भनिन्।

प्रतिक्रिया