नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले कार्यक्रम हुनुपूर्व नै सरकारको तर्फबाट अश्रुग्याँस र हवाई फायर भएपछि आन्दोलनकारीहरू बिथोलिएको जिकिर गरेका हुन्।
उनले मञ्चमा कार्यक्रम गर्न नदिई आन्दोलन बिथोल्ने काम सरकारबाट भएको बताए। लोकतन्त्रमा सबै किसिमका विचार बोक्नेहरूले स्वतन्त्रतापूर्वक आफ्ना धारणा राख्न पाउनुपर्ने बताए। सांसद शर्माले पार्टीहरू मिलेर जनतामाथि दमन गरेको बताए। तीनकुने घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गरे।
सरकारले फायर खोलेको भन्दै उनले सरकारले नै घटनाको जिम्मेवारी लिनुपर्ने बताउनु भयो। शान्तिपूर्ण रूपमा आमसभा गर्ने अधिकारलाई सरकारले बन्देज लगाएको उनको आरोप छ।
उनले भने, ‘स्टेजमा बसेर कार्यक्रम गर्नै नदिईकन, मान्छेलाई बोल्नै नदिईकन, अनि सरकारले अश्रु ग्याँस हानेको छ। ७ सय ४६ वटा अश्रुग्याँस पड्काउने, १९२ वटा छर्रा पड्काउने, ब्ल्याङ्क फायर गर्ने, हवाई फायर ५८, २ राउण्ड पेस्तोलको गोली वा आँखाले ट्याक्कै मल्टिपल भिडियोहरू तपाईँले कलेक्सन गरेर हेर्नुस्। एउटा कुरा निश्चित रूपमा देखिन्छ की स्टेजमा कार्यक्रम गर्न दिइएको छैन। हामी लोकतन्त्रवादी हौँ। सत्य के हो भने लोकतन्त्रवादी भनिरहँदा लोकतन्त्र भनेकै एउटा त्यस्तो गार्डेन, नर्सरी, जहाँ फरक-फरक खालका विचारहरू स्वतन्त्रतापूर्वक फुल्न पाउनुपर्छ। चाहे त्यो राजावादी होस्, चाहे माओवादी, काँग्रेस वा अर्को पार्टी। कुनै पनि विचार हातमा हतियार नकिन राखिने विचारलाई स्वागत गर्नुपर्छ। स्टेज बनाएको ठाउँमा कार्यक्रम गर्न नदिने। अनि जनतालाई गरिखान नदिने।’
सांसद शर्माले आक्रान्त जनताका माग सम्बोधन नगरीकन लोकतन्त्रको नाममा अश्रुग्याँस हानिएको बताए। उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवल शमशेर जबरालाई सरकारले शक्तिको दुरुपयोग गरेर हतकडी लगाएर थुनेको बताए। यसबारेमा राप्रपा वा पूर्वराजा ज्ञानेन्द्र शाहसँग छलफल गर्नुपर्ने उनको माग छ।
Shares

प्रतिक्रिया