नेकपा एकीकृत समाजवादीको मोरङ जिल्ला अधिवेशन नेतृत्व चयनमा अलमलिएको छ। अध्यक्ष माधवकुमार नेपाल आएर उद्घाटन गरेको जिल्ला अधिवेशनको उद्घाटन भएको तेस्रो दिनमा पनि अझै नेतृत्व चयन हुन सकेको छैन।
विराटनगरको मनास्लु होटेलमा सुरु भएको नेतृत्व चयनमा सकस देखिएपछि अध्यक्ष मण्डल नै निर्वाचनसँग सम्बन्धित कागजात बोकेर बाहिरिएको हो। बुधबार दिउँसो नै आकांक्षीमध्ये केहीलाई मात्र बोलाएर नेतृत्वको नाम टाँस गर्ने तय गरिएको थियो। त्यसको विरोध भएपछि निर्वाचन प्रक्रियामा लगिएको एक नेताले जानकारी दिए।
नेतृत्वको नाम टाँस्ने तयारी भएपछि प्रतिनिधिले विरोध गरेका थिए। त्यसपछि निर्वाचन समितिले मनोनयन फाराम वितरण गरेको थियो। निर्वाचन मार्फत नेतृत्व चयन गरिनुपर्ने मत बलियो भएपछि मनोनयनको कार्य अघि बढाएर सहमतिको प्रयास स्वरूप वार्ता थालिएको ती नेताले बताए।
नेकपा एकीकृत समाजवादीको अध्यक्षका निम्ति संयोजक चन्द्रवीर राई उपाध्यक्ष उद्धव पोखरेल सहित दीपक ढकाल, कविराज घिमिरे, पुरुषोत्तम सुवेदी, हितबहादुर थापा, पदम सुब्बा र ध्रुव डाँगीले मनोनयन पत्र दर्ता गराएका छन्।
अध्यक्षमा पोखरेल र ढकालबिच प्रतिस्पर्धा हुने देखिएको छ। त्यस्तै दुई जना उपाध्यक्ष र एक सचिवका लागि चार/चार जनाले उम्मेदवारी दर्ता गराएका छन्। उपसचिवमा पाँच जनाले मनोनयन पत्र दर्ता गराएको निर्वाचन समितिले जनाएको छ।
नेतृत्वमा जाने आकाङ्क्षीको सङ्ख्या धेरै भएपछि नेताहरू पार्टी कार्यालय गएका छन्। एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मीले हलले अध्यक्ष मण्डललाई सर्वसम्मत नेतृत्व छान्ने अनुमति दिएकाले छलफलका लागि पाटी कार्यालयमा छलफल भइरहेको बताए।
उनले भने, 'आकाङ्क्षी धेरै भएपछि अहिले छलफल भइरहेको छ, आज साँझसम्ममा नेतृत्व छान्छौँ।’ सर्वसम्मत नेतृत्व छान्न समाजवादीका केन्द्रीय उपाध्यक्ष जगन्नाथ खतिवडा, वरिष्ठ नेता घनेद्र बस्नेत, केन्द्रीय सचिव बलदेव चौधरी, पोलिटब्युरो सदस्य महेश रेग्मीलगायत नेता खटिएका थिए।
हलमा निर्वाचनमा जानु पर्ने माग उठेपछि अध्यक्ष मण्डल नै अधिवेशन स्थल छाडेर हिँडेको छ। अध्यक्ष मण्डलको अध्यक्षमा बलदेव चौधरी छन्। सदस्यमा ओसिम आलम, महेश रेग्मी, विद्या चाम्लिङ, सीता पौडेल, निलम ढुङ्गेल र सेमन्तराज भण्डारी रहेका छन्। समाजवादी मोरङको अधिवेशनमा ४३६ प्रतिनिधि सहभागी छन्।
Shares

प्रतिक्रिया