राजनीति


तीनकुने हिंसासम्बन्धी स्टाटस हराएपछि भीमार्जुन आचार्यको आक्रोश: लोकतन्त्र कार्यान्वयन सुरु भएजस्तो छ

तीनकुने हिंसासम्बन्धी स्टाटस हराएपछि भीमार्जुन आचार्यको आक्रोश: लोकतन्त्र कार्यान्वयन सुरु भएजस्तो छ

डा. भीमार्जुन आचार्य


नेपालखबर
चैत २०, २०८१ बुधबार १५:४६, काठमाडौँ

संविधानविद् डा. भीमार्जुन आचार्यले तीनकुने घटनामा बुधबार आफूले सरकारको आलोचना गरी फेसबुकमा लेखेको स्टाटस हराएको भन्दै आपत्ति जनाएका छन्। 

वरिष्ठ अधिवक्ता आचार्यले काठमाडौँको तीनकुनेमा चैत १५ गते गरिएको राजावादी प्रदर्शनका क्रममा २ जनाको ज्यान जाने गरी भएको हिंसामा सरकार नै दोषी रहेको आरोप लगाउँदै स्टाटस लेखिरहेका थिए। 

यस क्रममा उनले मार्च ३१ अर्थात् चैत १८ गते लेखेको स्टाटस भने अहिले पनि छ।

जसमा उनले लेखेका छन्, ‘सरकारले अस्तिको प्रदर्शनमा संलग्न केहीलाई गिरफ्तार गरेपछि आफ्नो काम सकिएजस्तो भान पार्न खोजेको देखिन्छ। बाटोमा फर्कंदै गरेको निहत्था नागरिकलाई गोली हानी मारेको भिडिओ फुटेज सार्वजनिक भएका छन्। पत्रकार सुरेशजीका बारेमा पनि थुप्रै रहस्यहरू बाहिर आएका छन्। सरकारले अब आफ्नै गृह प्रशासनमाथि यी दुई घटनाको अविलम्ब छानबिन गरोस्। यो समाज अझै पूरै मृत भइसकेको छैन, यो पनि हेक्का राखोस्।’

यो स्टाटसमा आचार्यले संकेत गर्न खोजेको आगोमा जलेको अवस्थामा मृत भेटिएका पत्रकार सुरेश रजकलाई गोली पनि लागेको हल्ला भने त्रिवि शिक्षण अस्पतालले एक्सरे गरी गलत साबित गरिसकेको छ। अर्थात् एक्सरेमा उनको शरीरमा गोली लागेको देखिएन। 

तर आचार्यले यसमा पनि असन्तुष्टि जनाउँदै बुधबार स्टाटस लेखेका थिए। तर त्यो स्टाटस एकछिनमै हराएपछि संविधानविद् आचार्यले सरकारप्रति आक्रोश पोखेका छन्। 

उनले बुधबार अपराह्न लेखेका छन्, ‘मेरो भर्खरैको स्टाटस् फेसबुकमा सिन छैन। लोकतन्त्रको कार्यान्वयन सुरु भएजस्तो छ।’

राजावादीको प्रतिवादमा संघीय लोकतान्त्रिक गणतन्त्रवादी सरकार उत्रिएका बेला आचार्यले ‘लोकतन्त्रको कार्यान्वयन सुरु भएजस्तो’ छ भनेर फेसबुक स्टाटस हराएकामा पनि सरकारविरुद्ध नै आशंका गरेको बुझिन्छ। 

तर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुर फेसबुकमा सरकारको कुनै पहुँच नहुने बताउँछन्। 

‘पहिलो कुरा त नेपालमा फेसबुक दर्ता नै छैन। सरकारले दर्ता गर्न आह्वान गरिरहेको छ’, सहसचिव ठाकुरले नेपालखबरसँग भने,  ‘सरकार फेसबुक भित्रको कन्टेन्टमा कहाँबाट छिर्नु?’

उनले पछिल्लो समय संवेदनशील विषय देखिए फेसबुक आफैँले हटाउने गरेको बताए।

‘मन्त्रालयमा धेरै जनाले पत्र नै काटेर फेसबुक अकाउन्ट बन्द भएको, पोस्ट हराएको जस्ता गुनासो गर्दै आउनुभएको छ’, उनले भने, ‘हामीले फेसबुकलाई अहिलेसम्म यो गर वा नगर भन्न नेपालमा दर्ता नै छैन। दर्ता भइहाले पनि सरकारले हटा भनेका सबै कुरा त हटाउँदैन होला।’

आचार्यले भर्खरै आफ्नो स्टाटस हराएको भनी बुधबार फेसबुकमा लेख्नु केही बेरअगाडि यस्तो स्टाटस लेखेको स्क्रिनसट भेटिएको छ।

जसमा उनले लेखेका छन्, ‘राजावादीभन्दा भिन्न बन्ने होडमा निहत्था नागरिक सविन, सुरेश र आन्दोलनमै सहभागी नभएका दुई दाजुबहिनी दिनेश र रेबिकामाथिको राज्य आतंकमा यसपटक हामी मिडिया, नागरिक समाज र जिउँदा मान्छे’ भन्ने सबै नराम्रोसँग चुक्यौँ। राष्ट्रिय मानव अधिकार आयोग त अब रहनु नरहनुको कुनै अर्थ र औचित्य बाँकी रहेन। एकपटक निष्पक्ष छानबिन गर् सरकार त भनौँ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad