सुदूरपश्चिम


महाकालीको भरमा चलेको जीवन, जहाँ गिट्टी बालुवा छान्न भारतीयसमेत आउँछन्

महाकालीको भरमा चलेको जीवन, जहाँ गिट्टी बालुवा छान्न भारतीयसमेत आउँछन्

गोकुल जोशी
चैत २०, २०८१ बुधबार १५:५०, कञ्चनपुर

नदीभर स-साना टहरा छन्। नजिकै जालीमा गिट्टी, बालुवा छान्नमा मानिस व्यस्त छन्। झट्ट हेर्दा महाकाली नदीमा बनेका ती टहराले छुट्टै गाउँझै झल्को दिन्छ। महाकालीमा गिट्टी, बालुवा छान्नेहरूको भीडभाड छ।

भीमदत्त नगरपालिका–१० जिमुवाका ४२ वर्षीय भोज खड्का र उनकी श्रीमती तारादेवी बिहानै महाकाली किनार पुग्छन्। खाना साथ लिएर जाने उनीहरू महाकाली किनारमै खान्छन् र दिनभर गिट्टी, बालुवा छान्नमा बिताउँछन्।

उनीहरूलाई महाकालीमा गिट्टी, बालुवा छान्न थालेको दशक बढी भइसक्यो।

‘अरु काम केही पाइँदैन। गिट्टी, बालुवा छानेरै घरपरिवारको खर्च जोहो गर्नु परेको छ,’ भोजले भने, ‘वर्षात्मा मजदुरी काम गर्ने गरिन्छ।’

उनको ७ जनाको परिवार छ। गिट्टी, बालुवा छानेर कमाएको पैशाले छोराछोरीको विद्यालय खर्च र घरपरिवारको खर्च जोहो भइरहेको भोजको भनाइ छ।

‘जग्गा जमिन केही छैन। भाडामा बस्छौँ। खाद्यन्न सबै किनेर खानुपर्छ,’ उनले भने, ‘महाकालीकै सहाराले जीवन धानिएको छ।’

खड्का दम्पतीलाई एक ट्रली गिट्टी, बालुवा तयार पार्न तीन दिन लाग्छ। बालुवा एक हजार दुई सय रुपैयाँ र गिट्टी दुई हजार दुई सय रुपैयाँ ट्रलीका दरले बिक्री हुने गरेको छ।

बालुवा छानेरै खड्का दम्पत्तीले दुई छोरीलाई पढाइरहेका छन्। चन्द्रबहादुर सुनारको घर महाकाली नदीछेउमै छ। उमेरले उनी ६० वर्षका भए।

भीमदत्त नगरपालिका–११ भुजेला बस्ने उनको दैनिकी महाकालीकै बगरबाट सुरु हुन्छ। बिहानै बगरमा पुगेर उनी गिट्टी–बालुवा चाल्ने काममा जुट्छन्।

दिनभरि बगरमा काम गरेर साँझ मात्रै घर फर्किन्छन्। महाकालीमा गिट्टी, बालुवा चाल्न थालेको उनलाई चार दशक बढी भयो।

‘पहिले पहिले भारतीय आएर गिट्टी, बालुवा छान्ने काम गर्थे। कयौँ वर्ष भारतीयसँग मजदुरी गरे,’ उनले भने, ‘२० रुपैयाँ पाइन्थ्यो। भारतीयबाट सिकेर त्यसपछि आफैले यो काम गर्न थालेको हो।’

उनका अनुसार वर्षभरीमा सबैखर्च कटाएर एक लाखसम्म आम्दानी हुने गरेको छ।

अहिले महाकालीको बगरमा गिट्टी–बालुवा छान्नेमा धेरै नेपाली छन्। महाकाली तटीय क्षेत्रका विपन्न स्थानीयका साथै जिल्ला बाहिरिबाट पनि यो कामका लागि मानिस आउने गर्छन्।

जिल्ला बाहिर र भारतबाट आउने मानिस महाकाली किनारमै अस्थायी बसोबासको छाप्रो बनाएर गिट्टी, बालुवा छान्नमा व्यस्त छन्।

भारतको पुरनपुरका पप्पु कौला ८ महिनायता महाकालीको बगरमै छन्। उनी गिट्टी, बालुवा छान्न हरेक वर्ष महाकाली किनारमा पुग्ने गरेका छन्।

भारतमा काम नपाएपछि परिवारको गुजारा चलाउन महाकालीमा गिट्टी, बालुवा छान्ने काम गरिरहेको पप्पु बताउँछन्। ब्रह्मदेवदेखि पिपरियासम्म महाकाली किनारमा एक हजारको हाराहारीमा मानिस यो काम जुटेका छन्।

‘सानैदेखि बगरमा यही काम गरिरहेको छु, अहिले पनि यही कामले पेट पालेको छु,’ भीमदत्त नगरपालिका–११ भुजेलाकी शारदा नाथले भनिन्, ‘अब त बानी परिसक्यो, बगरमा नआए चित्तै बुझ्दैन।’

महाकालीमा कात्तिकदेखि जेठ मसान्तसम्म निर्माण सामग्री उत्पादनको काम हुन्छ। यो अवधिमा कतिपय बगरमा छाप्रो बनाएर बस्ने गरेका छन्।

शारदाका अनुसार दिनभरि काम गरेपछि ज्याला निस्किन्छ। खेतीपातीका बेला घरमै काम गर्ने गरेकी उनी अरु बेला बगरमै काम गरेर गुजारा चलाउने गरेकी छन्।

‘अब गहुँ काट्ने बेला हुन लाग्यो, त्यतिबेला घरमै काम हुन्छ,’ शारदाले भनिन्, ‘त्यसपछि वैशाख–जेठमा गर्मी पनि धेरै हुन्छ, बगरमा काम गर्नै सकिन्न।’ 

उनको ४ जनाको परिवार छ। बगरकै कामबाट उनले परिवारको खर्च चलाएकी छन्।

महाकाली नदीको बगरमा निर्माण सामग्री उत्खननमा हजारौँको संख्यामा नेपाली काम गर्छन्। ठाउँ ठाउँमा जाली ठड्याइएका छन्। कुटो–कोदालोले खनेर मिस्कट जालीमाथि खन्याउँछन्। एकातिर गिट्टी जान्छ भने जालीबाट छानिएर बालुवा छुट्टिन्छ। त्यही छानिएको गिट्टी र बालुवा निर्माण काममा प्रयोग हुन्छ ।

वर्षौ‌देखि आफूहरूको ज्याला नबढेको महाकाली नदीको बगरमा निर्माण सामाग्री उत्खनन् गर्नेको गुनासो छ। 

‘सबैतिरको ज्याला बढेको छ। महङ्गाइ त्यस्तै छ। खाद्यन्न, तरकारीको मूल्य बढेर किनी नसक्नु छ,’ भीमदत्त नगरपालिका–११ भुजेलाकी कविता नाथले भनिन्, ‘दिनभर चर्को घाममा मेहेनत गर्ने हाम्रो ज्याला पुरानौ छ। गिट्टी बालुवाको राम्रो मोल दिँदैनन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad