राजनीति


राजसंस्था फर्काउँछु भन्नु र बितिसकेका हजुरबुवा फर्काउँछु भन्नु उस्तै हो: सांसद घर्ती

राजसंस्था फर्काउँछु भन्नु र बितिसकेका हजुरबुवा फर्काउँछु भन्नु उस्तै हो: सांसद घर्ती

प्रतिनिधि सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पूर्णबहादुर घर्ती


नेपालखबर
चैत २०, २०८१ बुधबार ८:३६, काठमाडौँ

प्रतिनिधि सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पूर्णबहादुर घर्तीले अन्त्य भइसकेको राजसंस्था फर्काउँछु र बितिकसेका हजुरबुवालाई फर्काउँछु भन्नु एउटै कुरा भएको टिप्पणी गरेका छन्। 

इतिहास कहिले पछाडि नफर्किने दाबी गर्दै सांसद घर्तीले राजसंस्था पुन:स्थापनाको कुनै सम्भावना नरहेको जिकिर गरेका छन्। 

‘राजसंस्था आर्यघाटमा पुगिसकेको छ। यद्यपि आर्यघाटमा पुगे पनि त्यसका मलामीहरू बाँकी छन्। तर इतिहास कहिल्यै पनि पछाडि फर्किएको थाहा छैन। इतिहास अगाडि नै बढेको छ’, रासससँगको अन्तर्वार्तमा घर्तीले भनेका छन्, ‘मेरो बितिसकेको हजुरबुबालाई फर्काउँछु भन्नु र गइसकेको राजतन्त्र फर्काउँछु भन्नु उस्तै हो। यद्यपि राजसंस्थाप्रति आस्था राख्न पाइन्छ। त्यो उहाँहरूको इच्छाको कुरा हो। तर अहिले राजतन्त्र फर्किने अवस्था छैन।’

गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र भएको उल्लेख गर्दै माओवादी केन्द्रीय सदस्य घर्तीले यसमा देखिएका कमीकमजोरी भने सुधार गर्न आवश्यक भएको बताए। 

उनले अन्तर्वार्तामा भनेका छन्, ‘संघीयता कार्यान्वयन गर्न केही अपुग भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन गर्ने सवालमा हामी दलहरूको केही कमीकमजोरी भएका छन्। त्यसको अर्थ राजसंस्था भन्ने होइन। अब यही सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुधार्नुको विकल्प छैन। गणतन्त्रको विकल्प भनेको सुदृढ गणतन्त्र हो।’

सरकारप्रति जनताको आक्रोश, आलोचना भए पनि उनीहरूले गणतन्त्रको विकल्पमा राजतन्त्र नखोजेको उनको जिकिर छ। 

‘सरकारप्रति जनताको आक्रोश, आलोचनाका साथै थुप्रै आशा पनि छन्’, उनले भनेका छन्, ‘तर जनताले गणतन्त्रको विकल्प राजसंस्था भनेका छैनन्। राजतन्त्रवादीहरूले सडकमा नारा लगाउँदै गर्दा, राजतन्त्रको पक्षमा समर्थन बटुल्दै गर्दा, अहिलेको लोकतान्त्रिक प्रणालीको विरोध गर्दैगर्दा लोकतन्त्र वा सङ्घीयतामा खतरा पैदा भयो भन्ने होइन। मैले त्यो खतरा देखेको छैन। बरु यसको पूर्ण कार्यान्वयन हुने सवालमा दलहरू सक्रिय नभएको देखिन्छ। सरकार र सत्तारुढ दलको प्रवृत्तिका कारण जनताको असन्तुष्टि सडकमा पोखिएको मात्रै हो। त्यसप्रति सरकार गम्भीर हुन जरुरी छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad