सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर राणा पक्राउबारेको सूचना पढेर सदनलाई जानकारी गराएका छन्।
सोमबारको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले राणा पक्राउ बारेको सूचना पढेका हुन्।
उक्त पत्रमा दुर्गा प्रसाईंसमेत भएको राज्यविरुद्धको अपराधसम्बन्धी कसुरमा जबरा पक्राउ परेको भनिएको छ।
राप्रपासहित राजावादीहरूले १५ चैतमा काठमाडौँको तीनकुनेमा प्रदर्शन गरेका थिए।
त्यसमा राणाले भीडलाई उक्साउने काम गरेका थिए।
विभिन्न मिडिया हाउस, प्रहरी कार्यालय, सरकारी कार्यालय, संस्थान, निजी तथा सरकारी सवारीसाधनमाथि तोडफोड, राजनीतिक दलका कार्यालय र नेताको निजी निवासमा आगजनी र आगजनी प्रयास गर्ने कार्यमा समेत जबराको भूमिका रहेको भनिएको छ।
प्रहरीको ज्यान मार्ने प्रयास गरेको, घरभित्र मानिस छ भन्ने थाहा हुँदा हुँदै आगजनी गरेर ज्यान मार्ने कार्य हुँदा त्यसलाई बल पुग्ने गरी भूमिका खेलेको भनेर जबरामाथि राज्य विरुद्धको कसूर समेतका आधारमा पक्राउ गरिएको उल्लेख छ।
संविधानको धारा १०३ को उपधारा ३ मा सांसद पक्राउको सूचना सभामुखलाई दिनुपर्ने व्यवस्था छ। यसअनुसार प्रहरीले सांसदलाई पक्राउ गरेको सूचना सभामुख र संसद् सचिवालयलाई दिएको हो।
यस्तो सूचना प्राप्त भएपछि प्रतिनिधिसभा नियमावली अनुसार सभामुखले संसद्लाई जानकारी दिने व्यवस्था छ।
Shares

प्रतिक्रिया