भोलिदेखि हुने थाइल्याण्ड भ्रमणका क्रममा भारतीय पक्षले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताको समय उपलब्ध गराइनसकेको संकेत प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो संकेत गरेका हुन्। भारतीय समकक्षी मोदीसँग भेटवार्ता–प्रयासलाई नेपाली पक्षले प्राथमिकतामा भने राखेको छ।
दुई मुलुकको संस्थापनबीच राम्रो सम्बन्ध रहेको सन्देश दिनेगरी प्रम मोदीसँग भेटवार्ता गर्ने प्रयास भएपनि भारतीय पक्षले सोमबार विहानसम्म यसबारे कुनै जानकारी गराएको छैन, जसको संकेत प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा गरेको सम्बोधनबाट पनि प्राप्त गर्न सकिन्छ।
‘समयको चाप छ, अधिकांस सदस्य देशका नेताहरू २१ गते मात्र बैंकक आइपुग्ने तालिका छ’ ओलीले भनेका छन्, ‘तर पनि शिखर सम्मेलन लगत्तै बाँकी मुलुकका नेताहरूसँग सम्भव भएसम्म साइडलाइन वार्ताको योजना गरिएको छ।’
भारतीय विदेश मन्त्रालयले जनाएअनुसार प्रधानमन्त्री मोदी भने २० चैत्रमा नै बैंकक पुग्नेछन्। नेपाल-थाइल्याण्डबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षको इतिहासमा नेपाली प्रधानमन्त्रीको स्तरबाट थाइल्याण्ड भ्रमण हुन लागेको यो पहिलो पटक हो।
‘यसबीचमा यति नजिकको र ट्रान्जिट पोइन्टजस्तो त्यहीँबाट यता जाने, उता जाने तर औपचारिक भ्रमणचाहिँ नभएको अवस्था रहेछ’ भ्रमणको विषयमा प्रतिनिधिसभालाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘त्यसलाई अन्त्य गर्नका लागि यसपटक औपचारिक भ्रमण नेपालको तर्फबाट पहिलो पटक कार्यकारी प्रमुखको पहिलो पटक हुँदैछ। यस अर्थमा यो भ्रमण आफैमा महत्वपूर्ण हो भन्ने ठान्दछु।’
भ्रमणका क्रममा थाई प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता हुने र पर्यटन तथा संस्कृतिका सन्दर्भमा दुई वटा समझदारीपत्रमा हस्ताक्षर हुनुका साथै दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबी ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुने उल्लेख गरेका छन्।
द्विपक्षीय वार्तापछि थाई समकक्षीसँगै संयुक्त प्रेस व्रिफिङमा भाग लिने र थाई राजासँग भेटवार्तापछि थाइल्याण्डको एक दिने औपचारिक भ्रमण समाप्त हुने उनको भनाई छ।
प्रधानमन्त्री ओलीका अनुसार २१ चैत्रमा उनले थाइल्याण्डका प्रतिष्ठित व्यापारीहरूसँग भेटघाट–छलफल र दिउसो एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन गर्नेछन्। त्यसै साँझ विमस्टेक शिखर सम्मेलनका नेताहरूलाई दिइने औपचारिक डिनरमा सहभागी हुनेछन्।
उनका भनाईमा, २१ चैत्र दिउसो हुने विमस्टेक शिखर सम्मेलनमा सहभागी हुनुका साथै नेपालको तर्फबाट सम्बोधनपनि गर्नेछन्। त्यसअघि विहान ‘मेरिटाइम ट्रान्सपोर्ट कोअपरेशन अग्रिमेन्ट’ मा हुने हस्ताक्षर समारोहमा पनि उनको सहभागिता रहनेछ।
२१ चैत्र साँझ नेपाली राजदूतावासमा आयोजना गरिएको रिसेप्सन (रात्रिभोज) मा सहभागी भएसँगै प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण समाप्त हुनेछ। सो रात्रिभोजमा आफू सहभागी हुने जानकारी थाइल्याण्डका लागि भारतीय राजदूत नागेश सिंहले जानकारी गराएका छन्।
तर, त्यसअगावै श्रीलंका प्रस्थान गर्ने भएकाले भारतीय प्रधानमन्त्री मोदी भने सहभागी हुनसक्ने छैनन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ब्याङ्ककस्थित नेपाली राजदूतावासबाटै सहभागी हुने बाहेक प्रधानमन्त्री नेतृत्वमा बैंकक जाने नेपाली प्रतिनिधिमण्डल २५ सदस्यीय हुनेछ।
प्रतिनिधिमण्डलमा प्रधानमन्त्री ओलीका अलावा श्रीमति राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, आर्थिक र विकास सल्लाहकार डा. युवराज खतिवडा, परराष्ट्र सचिव अमृतबहादुर राई, परराष्ट्र मन्त्रालयको दक्षिण–पूर्वी एसिया एवं प्रशान्त क्षेत्र महाशाखा प्रमुख तापस अधिकारी र उपप्रमुख अम्बिका जोशी क्षेत्रीय संगठन महाशाखा प्रमुख ज्ञानबहादुर मगर र उपप्रमुख विवेक रिजाल छन्।
यसैगरी चिफ अफ प्रोटोकल विष्णु गौतम र डेपुटी चिफ अफ प्रोटोकल नितेश सापकोटा, प्रोटोकल अफिसर रिचा भट्टराई, प्रधानमन्त्रीका पाश्र्ववर्ती लेफ्टिनेन्ट कर्णेल दिवाकर खड्का, निजी चिकित्सक डा. दीव्या सिंह शाह, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी इन्सपेक्टर कृष्ण खड्का, राससका पत्रकार वरिष्ठ सम्वाददाता प्रकाश सिलवाल, नेपाल टेलिभिजनका क्यामेराम्यान सुदीप बुढाथोकी, प्रधानमन्त्रीका फोटोग्राफर दिनेश भण्डारी हुनेछन्।
Shares

प्रतिक्रिया