सत्तारुढ नेकपा एमालेले आज (सोमबार) काठमाडौँसहित देशभरका सदरमुकाम र प्रमुख सहरमा गणतन्त्रका पक्षमा जागरण सभा र मोटरसाइकल र्याली गर्दै छ।
त्यसका लागि १० नारा तय गरिएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए।
उनका अनुसार गणतन्त्र जिन्दावाद, प्रतिगमन मुर्दावाद, हिंसा, हत्या र लुटपाट मुर्दावाद, जन्मसिद्ध श्रेष्ठता अस्वीकार गरौँ, नेकपा एमाले जिन्दावाद, दास र रैती बन्न मञ्जुर छैन, हत्यारालाई कारबाही गर, शान्ति-सुव्यवस्था कायम गर, सामाजिक अराजकता मुर्दावाद, जनताको बहुदलीय जनवाद जिन्दावाद नारा लगाइनेछ।
एमाले महासचिव पोखेरलले काठमाडौँमा भने तीनकुनेमा अपराह्न ४ बजे संयुक्त मोटरसाइकल र्याली गरिनेछ।
र्यालीमा सहभागी हुन आह्वान गर्दै एमाले महासचिव पोखरेलले भनेका छन्, ‘प्रतिगमनको दुष्प्रयासलाई नकाम बनाऔँ। लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढता प्रकट गरौँ।’
काठमाडौँको तीनकुने त्यही ठाउँ हो, जहाँ चैत १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनका क्रममा पत्रकारसहित २ युवाको ज्यान गयो भने तोडफोड, आगजनी र लुटपाटका कारण करोडौँ धनमाल क्षति भयो।
त्यो हिंसा गर्न उक्साएको अभियोगमा जिल्ला प्रहरी परिसर, काठमाडौँले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित ४१ जनालाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको छ।
तीनकुने घटनाका एक नाइके दुर्गा प्रसाईं भने फरार छन्। प्रहरीले उनको खोजी गरिरहेको छ।
यद्यपि उनले आइतबार सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै आफू टाढा नभएको बताएका छन्।
त्यसो त सरकारले तीनकुने हिंसाका प्रमुख योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएको भन्दै उनीविरुद्ध निगरानी बढाएको छ।
Shares

प्रतिक्रिया