तीनकुनेमा भएको हिंसापछि फरार दुर्गा प्रसाईंले आइतबार भिडिओ सन्देश जारी गर्दै सुरक्षाकर्मीसँग माफी मागेका छन्।
सामाजिक सञ्जालमा राखिएको उनको भिडिओ सन्देशमा उनले आफू प्रहरीबाट टाढा नरहेकाे दाबी पनि गरेका छन्।
तर एक मन्दिरमा बसेर बोलिरहेको देखिने प्रसाईंले आफू अहिले कहाँ छन् भनेर बताएका छैनन्।
त्यस दिन (चैत १५ गते) आफूलाई मार्ने षड्यन्त्र भएका कारण प्रहरीको सुरक्षा घेरा तोडेर भाग्नुपरेको दाबी उनले गरेका छन्।
उनले भिडिओमा भनेका छन्, ‘म आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेर सुरक्षित स्थानमा प्रवेश गरेँ। सुरक्षाकर्मीलाई म के भन्न चाहन्छु भने म तपाईंहरूप्रति कुनै लक्षित दुस्मनी होइन, तपाईंहरू राज्यको संयन्त्र हो, तपाईंहरूलाई पुगेको चोटमा म क्षमा चाहन्छु। दुर्गा प्रसाईं तपाईंहरूबाट टाढा छैन।’
सुन्नुहोस् दुर्गा प्रसाईंको भिडिओ सन्देश:
चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रसाईंकै अगुवाइमा भएको राजावादी प्रदर्शनका क्रममा पत्रकारसहित २ जना मारिए भने तोडफोड, आगजनी र लुटपाटका कारण करोडौँको धनमाल क्षति भएको छ।
त्यसयता फरार प्रसाईंलाई खोजिरहेको भए भने पनि प्रहरीले पक्राउ गर्न सकेको छैन।
उक्त प्रदर्शनमा सहभागी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित प्रहरीले सय जनाभन्दा बढीलाई पक्राउ गरेको थियो।
तर तीमध्ये मिश्र र राणासमेत ७१ जनालाई प्रहरीले विभिन्न अभियोगमा मुद्दा चलाउने तयारी गरिरहेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार उक्त प्रकरणमा जम्मा १११ जना पक्राउ परेकामा ४० जनालाई भने छाडिएको छ।
Shares

प्रतिक्रिया