संघीय संसद्का दुवै सदन अवरोधका कारण विधेयक पारित गर्न बाधा सिर्जना गरिएको भन्दै सत्तारुढ नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले ध्यानाकर्षण भएको जनाएको छ।
महासचिव शंकर पोखरेलका अनुसार बैठकले संविधान र कानुनको व्यवस्थाअनुरुपको कार्यसम्पादनमा उत्पन्न बाधा हटाउन प्रतिपक्षी दलहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ।
सरकारले माघ १८ संसद्मा ६ वटा अध्यादेश पेस भएको थियो। तीमध्ये भूमिसम्बन्धी अध्यादेश भने सरकारले होल्ड गरेको थियो। अन्य अध्यादेश भने प्रतिनिधिसभाबाट स्वीकृत भइसकेका छन् भने राष्ट्रियसभामा विचाराधीन अवस्थामा छ।
'प्रतिनिधिसभा र राष्ट्रियसभाको अवरोधका कारणले प्रतिस्थापन विधेयक पारित गर्ने प्रक्रियामा व्यवधान सिर्जना भइरहेको प्रति बैठकको ध्यानाकर्षण भएको छ,' पोखरेलले जारी विज्ञप्तिमा भनेका छन्, 'संविधान र कानूनको व्यवस्थाअनुरूपको कार्यसम्पादनमा उत्पन्न बाधा हटाउनका लागि प्रतिपक्षी दलहरूलाई अनुरोध गर्दछ । सरकारी विधेयकलाई संविधान र कानुनको व्यवस्थाअनुरूप सम्पादन गर्ने कर्तव्यतर्फ राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभाका सभामुखको ध्यानाकर्षण समेत गर्दछ।'
प्रतिपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाइएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै सदन अवरुद्ध पार्दै आइरहेका छन्।
बैठकले राजावादीका नाममा काठमाडौंको तीनकुने, कोटेश्वर र जडिबुटी लगायतका क्षेत्रमा अपराधिक समुहले देखाएको उद्दण्डता, अराजकता, तोडफोड, लुटपाट, हत्या र हिंसाका घटनालाई अत्यन्त गम्भीर रूपमा लिँदै त्यसको निन्दा तथा भर्त्सना गरेको छ।
त्यस्तै एमालेले शान्तिपूर्ण प्रदर्शनका नाममा सवारी साधनको प्रयोग गरी सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यवसायिक भवन, सञ्चारगृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमाथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी जानी हिंसा र आतङ्क सिर्जना गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने जस्ता अराजक र आपराधिक क्रियाकलापको छानविन गरी दोषीउपर तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकषर्ण गराएको छ।
एमालेले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गरेको छ। सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासविरूद्ध गोलबन्द हुन आह्वान गरिएको छ।

Shares

प्रतिक्रिया