राजनीति


तीनकुने घटनाको २ दिनपछि दुर्गाको बयान: कानबाटै गोली गएपछि भागेँ

तीनकुने घटनाको २ दिनपछि दुर्गाको बयान: कानबाटै गोली गएपछि भागेँ

नेपालखबर
चैत १७, २०८१ आइतबार १४:२९, काठमाडौँ

काठमाडौँको तीनकुनेमा हिंसाको ताण्डव मच्चाएर फरार भएको २ दिनपछि आइतबार (चैत १७ गते) दुर्गा प्रसाईंले भिडिओ सन्देश जारी गरेका छन्। 

जसमा उनले त्यस दिन (चैत १५ गते) आफूलाई मार्ने योजना रहेको थाहा पाएपछि आफू प्रहरीको घेरा तोडेर भाग्न बाध्य भएको दाबी गरेका छन्। 

उनले आफू कार्यक्रम स्थलमा जाँदै गर्दा कानबाटै गोली गएपछि ज्यान बचाउन सुरक्षित स्थानमा गएको जिकिर उनले गरेका छन्। 

‘त्यहाँ पुग्दाखेरि के सुराकी पाएँ भने त्यहाँ छतमाथि सार्प सुटर बसेर मलाई टार्गेट बनाएको भनेर बुझिसकेपछि, अर्काे कुरा के थियो भन्दा मेरो कानको छेवैबाट गोली गयो, मेन ठाउँमा पुग्दा, स्टेजमा पुग्दा। र, त्यसपछाडि मैले कुरो बुझिसकेपछि मेरो कानको छेउबाट गोली पनि गयो, अर्काे कुरा मेरै गाडीमा आएर टियर ग्यास आइसकेपछि म उत्रेर, मेरा डाइबरलाई निकालेर म आफैँले गाडी चलाएँ। यिनीहरूले मलाई मार्ने रहेछन्, मलाई मार्ने षड्यन्त्र गरेको बुझिसकेपछि म अन्त कहीँ उपाय नभएर म पुलिसको ब्यारिकेड तोडेर सुरक्षित स्थलतिर म पुगेको थिएँ।’

भिडिओ:

सामाजिक सञ्जालमा राखिएको भिडिओ सन्देशमा उनले आफू प्रहरीबाट टाढा नरहेकाे दाबी पनि गरेका छन्। तर एक मन्दिरमा बसेर बोलिरहेको देखिने प्रसाई‌ंले आफू अहिले कहाँ छन् भनेर बताएका छैनन्। 

त्यस दिन (चैत १५ गते) आफूलाई मार्ने षड्यन्त्र भएका कारण प्रहरीको सुरक्षा घेरा तोडेर भाग्नुपरेको दाबी उनले गरेका छन्।

उनले भिडिओमा भनेका छन्, ‘म आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेर सुरक्षित स्थानमा प्रवेश गरेँ। सुरक्षाकर्मीलाई म के भन्न चाहन्छु भने म तपाईंहरूप्रति कुनै लक्षित दुस्मनी होइन, तपाईंहरू राज्यको संयन्त्र हो, तपाईंहरूलाई पुगेको चोटमा म क्षमा चाहन्छु। दुर्गा प्रसाईं तपाईंहरूबाट टाढा छैन।’

चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रसाईंकै अगुवाइमा भएको राजावादी प्रदर्शनका क्रममा पत्रकारसहित २ जना मारिए भने तोडफोड, आगजनी र लुटपाटका कारण करोडौँको धनमाल क्षति भएको छ। 

त्यसयता फरार प्रसाईंलाई खोजिरहेको भए भने पनि प्रहरीले पक्राउ गर्न सकेको छैन।

उक्त प्रदर्शनमा सहभागी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित प्रहरीले सय जनाभन्दा बढीलाई पक्राउ गरेको थियो। 

तर तीमध्ये मिश्र र राणासमेत ७१ जनालाई प्रहरीले विभिन्न अभियोगमा मुद्दा चलाउने तयारी गरिरहेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार उक्त प्रकरणमा जम्मा १११ जना पक्राउ परेकामा ४० जनालाई भने छाडिएको छ। 

यस्तो छ, दुर्गाको भिडिओ सन्देशको पूर्णपाठ:
अस्ति चैत १५ को जनविद्रोह घोषणा कार्यक्रम थियो, कार्यक्रम शान्तिपूर्ण तरिकाले जाँदै गर्दा त्यहाँ मलाई मार्ने योजना रहेछ। राज्यले गरेको बर्बर आतंक। लघुवित्तपीडित थिए, बैंकपीडित थिए। विदेश जाने परिवारका पीडित थिए। सबैको हालत कस्तो थियो? नेपालमा राजसंस्था र हिन्दुराज्य गएपछि के हालत भयो? त्यही आवाजलाई हामीले बुलन्द गर्दै हामी अघि बढेका थियौँ।

अब हामीले लडाइँ जित्छौँ, जनविद्रोह सफल हुन्छ भनेर चैत १५ गते बिहानैदेखि विभिन्न वेशभूषामा युवा संघका व्यक्तिहरू, पुलिस प्रशासनका केही व्यक्तिहरू सिभिल ड्रेसमा गएर अर्काको घरमा चढेर, बिहानैदेखि घर कब्जा गरेर जुन घटना पुलिस प्रशासनले घटायो, हामी कार्यक्रमस्थल डेढ बजे पुग्दै गर्दा कार्यक्रम स्थल पुग्नुभन्दा १५ मिनेटअगाडि त्यत्रो खर्च गरेर स्टेज बनायौँ। शान्तिपूर्ण प्रदर्शन गर्ने भनेर हाम्रा पाहुना र हामीलाई स्टेज पुग्नै नदिएर बाटाबाटैबाट गोली हानेर, लखेट्न थालेपछि टियर ग्यास छाड्न थालेपछि त्यसपछाडि हामी अघि बढ्न पर्‍यो। 

हामी किन अगाडि बढ्नपर्‍यो होला भनेर प्रहरी जवानलाई लागेको होला, प्रहरीलाई माया गर्ने, दीनदुःखीलाई माया गर्ने मजत्तिको कोही छैन, प्रहरीलाई लाग्यो होला प्रहरीले पेल्यो भनेर तर मैले त्यहाँ पुग्दाखेरि के सुराकी पाएँ भने त्यहाँ छतमाथि सार्प सुटर बसेर मलाई टार्गेट बनाएको भनेर बुझिसकेपछि अर्काे कुरा के थियो भन्दा मेरो कानको छेवैबाट गोली गयो, मेन ठाउँमा पुग्दा, स्टेजमा पुग्दा। र, त्यसपछाडि मैले कुरो बुझिसकेपछि मेरो कानको छेउबाट गोली पनि गयो, अर्काे कुरा मेरै गाडीमा आएर टियर ग्यास आइसकेपछि म उत्रेर, मेरा डाइबरलाई निकालेर म आफैँले गाडी चलाएँ। यिनीहरूले मलाई मार्ने रहेछन्, मलाई मार्ने षड्यन्त्र गरेको बुझिसकेपछि म अन्त कहीँ उपाय नभएर म पुलिसको ब्यारिकेड तोडेर सुरक्षित स्थलतिर म पुगेको थिएँ।

मैले पुलिसलाई चित्त दुखाउने काम गरेको त छैन। आम आम सर्वसाधारणलाई म के भन्छु भने तपाईंहरूले देख्नुभएको छ, राज्य आतंक कसरी अघि बढिरहेको छ। माओवादीको सभामा चाहिँ ३ हजार मान्छे आए, हाम्रोमा मान्छे बढी हुन्छन्, त्यो दिन हाम्रोमा ५ लाख मान्छे काठमाडौँमा उत्रिँदै थिए। हाम्रो कलंकी को मास आउन दिएन। हाम्रो गौशालाको मास आउन दिएन। उनीहरूलाई बाटाघाटामै रोकेर हामी पुग्नुभन्दा १५ मिनेटअघि नै झडपको मेसो बनाइएको थियो। कुन नेपालीको आँखाबाट आँसु झर्दैन, कसको रगत तात्दैन? म आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेर सुरक्षित स्थानमा प्रवेश गरेँ। सुरक्षाकर्मीलाई म के भन्न चाहन्छु भने म तपाईंहरूप्रति कुनै लक्षित दुस्मनी होइन, तपाईंहरूको राज्यको संयन्त्र हो, तपाईंहरूलाई पुगेको चोटमा म क्षमा चाहन्छु। दुर्गा प्रसाईं तपाईंहरूबाट टाढा छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad