नेपाली कांग्रेसले हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई कडा कानुनी कारबाही गर्न माग गरेको छ।
महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले शुक्रबार बेलुकी एक वक्तव्य प्रकाशित गरी यस्तो आग्रह गरेका हुन्।
राजधानीको तिनकुने लगायत क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनको कांग्रेसले निन्दा गरेको छ।
‘व्यक्तिको घर, मिडिया हाउस, पार्टी कार्यालय, सपिङ मल, सरकारी कार्यालय, सर्वसाधारणको सवारी साधन आदिमा भएको तोडफोड र आगजनीलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको’ वक्तव्यमा उल्लेख छ।
वक्तव्यमा संविधानसभाबाट वर्तमान संविधान बनेको स्मरण गर्दै नागरिकका असन्तुष्टिको सम्बोधन वर्तमान संविधान भित्रैबाट खोज्न आग्रह गरिएको छ।
‘लोकतान्त्रिक गणतन्त्रको स्थापना ०६२/०६३ को जनआन्दोलनबाट सोझै भएको होइन, आन्दोलनले केवल प्रतिनिधिसभा पुनर्स्थापित गरेको थियो। संसद मार्फत अन्तरिम संविधान हुँदै संविधानसभाको निर्वाचन र त्यो निर्वाचनबाट चुनिएका नेपाली जनताका प्रतिनिधिहरुको संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्रमा लगेको थियो’ वक्तव्यमा भनिएको छ, ‘यो वास्तविकतालाई आजको मितिमा हामी स्मरण गर्न र गराउन चाहन्छौँ। नागरिकमा रहेका कयौं असन्तुष्टिको हल वर्तमान संविधान भित्रैबाट संभव छ।’
वक्तव्यमा लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र हो भन्दै कुनै पनि प्रकृतिको राजतन्त्र एक्काइसौँ शताब्दीको सचेत नेपालीका लागि विकल्प किमार्थ हुन सक्दैन भनिएको छ।
कांग्रेसले घाइतेहरूको उपचारमा गम्भीरतापूर्वक ध्यान दिन सरकारलाई आग्रह गरेको छ।
साथै, वक्तव्यमा सबैजना संयम र एकताका लागि पनि अपील गरिएको छ।
Shares

प्रतिक्रिया