राजनीति


कुलमान बर्खास्तीमा ओलीले प्रचण्डलाई दिएको चक्कर

कुलमान बर्खास्तीमा ओलीले प्रचण्डलाई दिएको चक्कर

सागर न्यौपाने
चैत १३, २०८१ बुधबार २०:६, काठमाडौँ

चैत ११ गते अपराह्न सिंहदरबारमा मुख्य तीन दलका शीर्ष नेताहरू भेला भए। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठकमा सहभागी थिए।

खासमा त्यसको केही दिन अघिदेखि नै प्रधानमन्त्री ओलीले प्रचण्डसँग भेटघाटको प्रयास गरिरहेका थिए। उदेश्य थियो– संक्रमणकालीन न्यायका विषयमा मुख्य तीन दलबीच सहमति जुटाउने।

तर, प्रचण्ड हुलाकी राजमार्गको अभियानमा गएकाले उनीहरूको भेट भएन। तराई–मधेस जागरण अभियानलाई चितवनबाट स्थगित गरेर काठमाडौँ आएपछि मात्र प्रचण्ड केहीबेर आराम गरेर सिंहदरबारको टीआरसी सम्बन्धी बैठकमा सहभागी हुन पुगेका थिए।

गृहमन्त्री रमेश लेखक, माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेत, प्रधानमन्त्री ओलीका मानवअधिकार तथा संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेलसहितको सो बैठकले संक्रमणकालीन न्यायका संयन्त्र गठन प्रक्रियामा सहमति जुटायो।

लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्‍यो। सरकारको सो निर्णयको चौतर्फी आलोचना भइरहँदा केहीले प्रचण्डले टीआरसीमा कुलमान साटेको हल्ला फैलाए। जसको अगुवा थिए, राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही। 

प्रचण्डले सोही दिन राति १० बजे फेसबुकमार्फत कुलमानको बर्खास्तीको भर्त्सना गरे पनि त्यो हल्ला सेलाएन। जसका कारण प्रचण्डले बुधबार संसद् बैठकबाट बाहिरिने क्रममा स्पष्टीकरण दिए। 

‘टीआरसीका लागि भनेर पटकपटक प्रधानमन्त्रीले खबर गर्नुभयो। ठिकै छ, टीआरसीका लागि त सबैको चासो छ। देशकै आवश्यकताको विषय पनि हो भनेर म गएँ,’ प्रचण्डले भने, ‘बिलकुल टीआरसीका बारेमा मात्र कुरा भयो। त्यसमा समझदारी बनेपछि म उठेर हिँडे। त्यो भन्दा बढी कहीँ कतै कसैले उच्चारण गरेको पनि होइन।’

उनले कुलमानलाई बर्खास्त गर्न ओलीले रोजेको समयमा पनि प्रश्न उठाउँदै जालझेलको शंका गरे। प्रधानमन्त्रीको सो निर्णयले प्रचण्डलाई रुष्ट बनाएको देखिन्छ। 

‘एकदुई दिन पर्खिए पनि हुन्थ्यो। फेरि एकचोटि निकै ठूलो जालझेल भएको जस्तो मलाई महसुस भयो,’ उनले भने, ‘म सिंहदरबार गएर टीआरसीबारे टुंग्याएलगत्तै गर्नुपर्ने त केही बाध्यता त थिएन। त्यसले मलाई फेरि स्वर्ग र नर्क सम्झायो।’

उसो त कुलमानलाई माओवादीकै जोडबलमा प्राधिकरणमा ल्याएको थियो। जसका कारण लोडसेडिङ अन्त्यको जसमा माओवादीले पनि दाबी गर्दै आएको छ। यसअघि पनि कुलमानलाई हटाउने प्रयासको माओवादी केन्द्रले विरोध गरेको थियो।

प्रचण्डले राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीको पनि कडा आलोचना गरे,  ‘ज्ञानेन्द्र शाहीले टीआरसीसँग कुलमान साट्यो भन्नु भएछ, यो भन्दा झूटो, बेइमानीपूर्ण र अपराधिक प्रचार केही हुन सक्छ?’

प्रचण्डले सम्झिएको ‘स्वर्ग र नर्क’
प्रचण्डले स्वर्ग र नर्क सम्झिएको भनेर इंगित गरेको घटना भने धेरै पुरानो होइन। 

प्रचण्ड प्रधानमन्त्री थिए। उनलाई ओलीको एमालेको समर्थन थियो।

ओलीको बलियो साथ पाएर मक्ख प्रचण्ड आफ्नो पार्टीको म्याजिक नम्बरको चर्चा गरिरहन्थे। तर, असारतिर सरकार ढल्ने चर्चा चल्न थाल्यो। कहिले कांग्रेस त कहिले एमालेको साथ पाएर सत्तामै रहेका प्रचण्डलाई यो सूचनाले झस्कायो।

अनि ओलीसँग यसबारे चासो राख्थे। यद्यपि, ओलीले ढुक्क बनाइरहे।

असार १४, १५, १६ र १७ गते लगातारजसो  प्रचण्ड–ओली भेट भयो। १७ गते बिहान त चारघण्टा जति ओली बालुवाटारमै बसे। प्रचण्डलाई उनले स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने भनेर विश्वस्त तुल्याएका रहेछन्।

तर, सोही दिन बेलुका ९ बजेदेखि कांग्रेस सभापति शेरबहादुर देउवासँग उनी गोप्य छलफलमा बसे। त्यही मध्यरात ओली र देउवाबीच ७ बुँदे सहमतिमा हस्ताक्षर भयो।

स्वर्ग गए पनि सँगै नर्क गएपनि सँगै जाने, पार्टी एकता गर्ने लगायत कुरा गरेर प्रचण्डलाई ढुक्क पारेका ओलीले आफ्नै सरकार ढालेर प्रधानमन्त्री बन्ने सहमति गरेपछि प्रचण्ड सत्ता छोड्न बाध्य भएका थिए। 

ओलीको सो निर्णयबाट ठूलो चोट बेहोरेका प्रचण्डले २०८१ असार २८ गते संसद् बैठकमा आफ्नो बह पोखे।

‘केही मान्छेहरू कुण्ठा र प्रतिशोधबाट निस्कन सक्दैनन भनेर मैले हिसाबै गर्न सकिनँ,’ ओलीलाई संकेत गर्दै प्रचण्डले भने, ‘म लामालामा मीठा, भरोसापूर्ण संवादहरूबाट लठ्याइएँ। अल्मलिएँ। १७ गते बिहान स्वर्ग र नर्क सँगै जाने, ०८४ को चुनाव वामपन्थीहरू नै मिलेर लड्ने, त्यसपछि पार्टी पनि एउटै बनाउने, ढुक्क हुनुस् भनेपछि त म त मख्ख परेँ।’

ओली–प्रचण्डबीच भरथेग र धोकाको शृंखला
प्रचण्डले बारम्बार ओलीले दिएको धोका सम्झिए पनि उनीहरूबीचको सम्बन्धमा घृणा मात्रै छैन, प्रेम पनि छ। ओलीले प्रचण्डलाई धोका मात्र दिएका छैनन्, गुन पनि लगाएका छन्।

२०७९ पुस ११ गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन ओलीकै भूमिका महत्त्वपूर्ण थियो।

चुनावी गठबन्धन गरेको कांग्रेसले देउवाअघि आफूलाई प्रधानमन्त्री बनाउन नमानेपछि भौँतारिएका प्रचण्डलाई ओलीले नै राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सबैसँग मिलाएर प्रधानमन्त्री बनाइदिएका थिए।

तथापि, प्रधानमन्त्री रहेका प्रचण्डलाई कांग्रेसले पनि विश्वासको मत दियो। त्यसले गर्दा प्रचण्डसँग ओलीको सम्बन्ध राम्रो हुन सकेन। २०८० फागुन २१ गते एमालेले सरकार छोड्यो। अनि फेरि कांग्रेसले साथ दियो, प्रचण्ड प्रधानमन्त्री रहिरहे। 

त्यसपहिले ०७४ को चुनावअघि पनि एमाले–माओवादीबीच तालमेल भएको थियो। जसका कारण झण्डै दुई तिहाइ स्थान उनीहरूले जिते।

यसले प्रचण्ड र ओली हौसिए। अनि एकता गर्ने निर्णयमा पुगे। 

२०७५ जेठ ३ गते दुवै दलले एकता गरेर नेकपा बनाए। ओली र प्रचण्ड अध्यक्ष रहे। दुई वर्ष नेकपा राम्रैसँग चलेको थियो।

तर, नेकपाभित्र माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले ओलीको कार्यशैलीको कुरा उठाए। पार्टी बैठकमा कुर्सीमा समेत विभेद गरिएको भन्दै उनीहरू रूष्ट बन्न थाले।

केही महिना पार्टीभित्रको आन्तरिक विवाद चलिरह्यो। तर, २०७७ पुस ५ गते सोही कारण देखाउँदै ओलीले प्रतिनिधि सभा भंग गरिदिए। त्यसपछि नेकपाका बहुमत नेताहरू ओलीको विरुद्धमा उत्रिए। 

यहीअवधिमा २०७७ फागुन २३ गते सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्रबीचको एकता भंग भएको फैसला गरिदियो।

एमाले र माओवादी अलग भएको सर्वाेच्चको फैसलापछि नेकपाभित्रको शक्ति संघर्षमा कमजोर बनेका ओली बलियो बने। 

उता, छुट्टै दलको अस्तित्वमा आएपछि माओवादीका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी लगायतका केही चर्चित नेता ओलीसँगै रहे। जुन प्रचण्डले सोचेकै थिएनन्। 

२०७८ वैशाख ७ गते मध्यराति ओलीले दोस्रोपटक पनि संसद् विघटन गरे। 

सो विरुद्ध एमालेकै नेपाल, खनाल, माओवादी केन्द्र, नेपाली कांग्रेस लगायत दलले सर्वाेच्चमा रिट हाले र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गरे। असार २८ गते सर्वाेच्चले ओलीको कदम असंवैधानिक रहेको भन्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दियो। 

अनि, ओली सरकार ढल्यो, देउवा प्रधानमन्त्री बने।

साउन २ गते देउवाले केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा २० प्रतिशतले पार्टी विभाजन गर्न सकिने प्रावधान राखेर राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए। जसले एमाले विभाजन भयो।

माधवकुमार नेपालले भदौ ९ गते नेकपा एकीकृत समाजवादी बनाए। 

२०७९ मंसिरमा भएको स्थानीय चुनावमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायत दलबीच तालमेल भयो। यस्तै, प्रतिनिधि र प्रदेश सभामा पनि यिनै दलले तालमेल गरे। यद्यपि, एमाले दोस्रो ठूलो दल बन्नबाट रोक्न सकेनन्।
 
ओलीबाट धोका पाएपछि प्रचण्डले उनलाई गणतन्त्रविरोधी भएको आरोप लगाउने गरेका छन्। 

उखान टुक्काबाटै छेडछाड गर्ने र छुच्चो टिप्पणी गर्ने ओलीको स्वभावले प्रचण्डलाई बिच्काउने गरेको छ। कुलमान घिसिङलाई बर्खास्त गर्ने ओलीको कदमपछि प्रचण्डले फेरि जालझेलको सिकार भएको स्मरण गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad