राजनीति


संक्रमणकालीन न्याय: फेरि सिफारिस समिति गठन गर्ने ओली, देउवा र प्रचण्डको निर्णय

संक्रमणकालीन न्याय: फेरि सिफारिस समिति गठन गर्ने ओली, देउवा र प्रचण्डको निर्णय

नेपालखबर
चैत ११, २०८१ सोमबार १७:५३, काठमाडौँ

शीर्ष नेताको बैठकले संक्रमणकालीन न्यायका संयन्त्रमा पदाधिकारी छनोट गर्न पुन: सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ। 

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शीर्ष नेतासहितको छलफलमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिबारे छलफल भएको र यसको प्रक्रिया सरकारले सुरु गर्ने निर्णय भएको प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेलले जानकारी दिए। 

‘बेपत्ता पारिएका व्यक्तिहरुको छानविन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिको लागि सिफारिस समिति गठन प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीले दुवै दलका नेताहरूसँग परामर्श गर्नुभयो,' उनले भने,' परामर्शअनुसार सिफारिस समिति बढाउने प्रक्रिया अघि बढ्छ।’

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्त हुन बाँकी छ।

यसअघि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले सर्वसम्मतिमा सम्भावित पदाधिकारीको सूची तय गर्न नसकिएको भन्दै जिम्मेवारीबाट हात झिकेको थियो।

बैठकमा प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी थिए।

प्रमुख तीन दलका शीर्ष नेतासँगै बैठकमा कांग्रेसबाट गृहमन्त्रीसमेत रहेका नेता रमेश लेखक, एमालेबाट प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेल र माओवादीबाट उपमहासचिव शक्ति बस्नेत र खिमलाल देवकोटा सहभागी थिए।

बैठकपछि सञ्चारकर्मीहरूसँग खरेलले भने, ‘बैठक शान्ति प्रक्रियाका बाँकी काम अर्थात् सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग गठन गर्ने विषयसँग भएको थियो। केही समयअघि दुईवटै आयोगहरू गठन गर्नको लागि बनेको सर्च कमिटीले एउटा प्रतिवेदन पनि दिएको थियो। त्यस प्रतिवेदनलाई पनि त्यहाँ राखियो। त्यस प्रतिदेवनअनुसार मिलेर अगाडि जाने कुरामा विगतमा जस्तै छलफल गर्नुभयो। र, त्यसमा हामी आज एउटा निष्कर्षमा पुगेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad