विद्यालय तहमा विभिन्न मातृभाषा अध्ययनका लागि पाठ्यक्रम स्वीकृत भएको छ।
माध्यमिक तह (कक्षा ९–१०) मा लिम्बु भाषा अधययन अध्यापनका लागि पाठ्यक्रम स्वीकृत भएको छ भने आधारभूत तह कक्षा (६–८) मा बान्तावा राई र कक्षा (१–३) मा बायुङ राई भाषाको पाठ्यक्रम स्वीकृत भएको हो।
साथै कक्षा (१– ३) का लागि डोटेली भाषाको पाठ्यक्रम पनि स्वीकृत भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्का अध्यक्ष विद्या भट्टराईको अध्यक्षतामा शुक्रबार बसेको बैठकले विभिन्न तहका पाठ्यक्रम स्वीकृत/परिमार्जन तथा नयाँ विषय समावेश गर्ने निर्णय गरेको हो।
तीन महिनाअघि आधारभूत (कक्षा ६ –८) का लागि चाम्लिङ भाषाको पाठ्यक्रम स्वीकृत भएको थियो।
विद्यालय शिक्षा राष्ट्रिय प्रारुप २०७६ अनुसार आधारभूत तह (कक्षा १–८) मा पठनपाठन हुने मातृभाषाको छनोट, पाठ्यव्रmम निर्माण, पाठ्यपुस्तक विकास तथा कार्यान्वयन स्थानीय तहको समन्वय र सहजीकरणमा गर्ने व्यवस्था छ।
यसै व्यवस्थाअनुरुप केही स्थानीय तह आफैँले मातृभाषाको पाठ्यक्रम बनाई कार्यान्वयन गरिरहेका छन्। तर, कतै कसरी पाठ्यक्रम बनाउने भनेर अन्योल पनि देखिन्छ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक ईमनारायण श्रेष्ठ भन्छन्, ‘स्थानीय तह आफैँले आधारभूत तहमा मातृभाषाको पाठ्यक्रम बनाउन सक्छन्। हामीले तयार गरेको पाठ्यक्रम नमुनाका लागि प्रयोग गर्न सक्छन्। इच्छुक स्थानीय तहले लागु गर्न पनि सक्छन्। ’
राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ को अनुसूचीमा माध्यमिक तह (कक्षा ९–१२ ) मा ऐच्छिक विषयअन्तर्गत नेपालमा बोलिने विभिन्न मातृभाषाका साथै विदेशी भाषा राखिएका छन्। कक्षा ११–१२ मा नेवारी, मैथिली लगायत १४ भाषा समावेश छन्।
यस्तै, कक्षा ९–१० मा नेवारी, मैथिली, अवधि, भोजपुरी लगायत २ दर्जनभन्दा बढी भाषा समावेश छन्। अब माध्यमिक तह (कक्षा ९–१०) मा लिम्बु भाषा पनि समावेश हुने भएको हो।
ऐच्छिक विषयहरू हेरफेर गर्नुपर्ने भएमा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले गर्न सक्ने व्यवस्था छ।
केन्द्रका महानिर्देशक श्रेष्ठका अनुसार आधारभूत तथा माध्यमिक तहमा स्वीकृत भएका पाठ्यक्रमअनुसार केन्द्रले अर्को वर्ष २०८२ मा पाठ्यपुस्तक तयार गर्नेछ।
Shares

प्रतिक्रिया