राजनीति


बाहिरबाट परिवर्तन सम्भव छैन, संविधान संशोधनबारे छलफल गर्छौं : महत

बाहिरबाट परिवर्तन सम्भव छैन, संविधान संशोधनबारे छलफल गर्छौं : महत

नेपालखबर
चैत १०, २०८१ आइतबार १९:२९, काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसले बाहिरबाट परिवर्तन आउने कुरा सम्भव नरहेको बताएको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले भारततिर संकेत गर्दै बाहिरबाट परिवर्तन आउने कुरा सम्भव नरहेको बताएका हुन्।

भारतले राजावादीहरूलाई उक्साएर अहिले प्रदर्शन भइरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई देखाइदिने भन्नुभएको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले नेपालको विषय नेपाली जनताबाट निर्णय हुने बताए।

फागुन ७ गतेपछि राजावादीहरूले राजतन्त्रको माग गर्दै आन्दोलन गर्दै आएका छन्। देशमा शान्ति चाहिएको र अब राजतन्त्र पुनः स्थापना गर्ने बेला भएको र आफूलाई सहयोग गर्न भन्दै फागुन ७ गते प्रजातन्त्र दिवसको दिन पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिपछि राजावादीरूले दिनदिनै प्रदर्शन गरिरहेका छन्।

फागुन २५ गते पोखराबाट पूर्वराजा शाह काठमाडौँ आउँदा देखिएको जनलहरपछि राजनीतिक वृत्त तरंगित छ।

उनले नेपाली जनताले निर्णय गरिसकेको बताए। सरकारले संविधान संशोधन लगायतका कतिपय विषयहरू उठाएकाले त्यस विषयमा कांग्रेसले आगामी दिनमा निर्णय गर्दै जाने बताए।

उनले भने, ‘नेपालको विषय हामी नेपाली जनताले निर्णय गर्ने हो। निर्णय गरिसकेको छ। नेपाली जनताले निर्णय गरिसकेको छ। नेपाली जनताले अब आवधिक रुपमा निर्वाचन गर्ने पद्धति छ। निर्वाचित सांसदहरू आउँछन्। जे गर्नुपर्ने हो, निर्णय हुन्छ। हामीले कतिपय विषयवस्तु संविधान संशोधनको विषय पनि सरकारले कुरा गरेको छ। भोलिको दिनमा कुन कुन विषयमा संविधान संशोधन गर्नुपर्छ, त्यस विषयमा हामी कुरा गर्नेछौँ। बाहिरबाट परिवर्तन आउने भनेको सम्भव छैन।’

कांग्रेस संविधानप्रति पूर्ण प्रतिवद्ध रहेको पनि बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad