पोखराको पृथ्वीनारायण क्याम्पसमा आज (आइतबार) भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विद्यार्थीहरूले खासै उत्साह देखाएका छैनन्।
९ हजार २ सय ७० मतदाता रहेकोमा क्याम्पसमा अपरान्ह ४ बजेसम्म जम्मा २७ सय मत खसेको छ।
स्ववियु निर्वाचन समितिले ४ बजेसम्म मतदानको समय तोकेका कारण मुख्य गेट बन्द गरिएको छ। अब क्याम्पस हाताभित्र प्रवेश गरेकाले मात्र मत दिन पाउने छन्।
विद्यार्थी संगठनको विवादका कारण चैत ५ गते स्ववियु निर्वाचन रोकिएको थियो।
नयाँ निर्वाचन तालिकाअनुसार आज बिहान ८ बजेदेखि चुनाव भएको हो।
समानुपातिक निर्वाचन प्रणालीमा अखिल (छैठौं) का अध्यक्षको नाम रहेको तर मतदानको लागि कोष्ट नभएको भन्दै सो संगठनले आपत्ति जनाएपछि विवाद सुरु भएको थियो।
अखिल (छैठौं) बाट मिलन सुनार चुनावी मैदानमा छन्।
पृथ्वीनारायण क्याम्पसको स्ववियुको २२ औँ अध्यक्ष बन्न मिलनसहित ८ जना मैदानमा छन्।
स्ववियु अध्यक्षमा अखिल (क्रान्तिकारी)बाट नविन अधिकारी, प्राज्ञिक विद्यार्थी परिषद् नेपालबाट दिप्सन गुरूङ, नेपाल विद्यार्थी संघबाट सुशील न्यौपाने, संयुक्त प्यानलबाट सन्तोष पौडेल, अनेरास्ववियुबाट विष्णु पोखरेल उम्मेदवार छन्। कमल सुवेदी र विप्लवी न्यौपाने स्वतन्त्र उम्मेदवारको रुपमा रहेका छन्।
Shares

प्रतिक्रिया