नेकपा (एकीकृत समाजवादी) बाट राष्ट्रियसभा सांसद घनश्याम रिजालले सिरहाको औरहीमा दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेका छन्।
आइतबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले जिल्लाको औरही–५ मा गाउँपालिका अध्यक्ष शिवजी यादव, जनमत पार्टीका पालिका अध्यक्ष दिलिप यादव र विष्णु महायज्ञका आयोजक बजरङ्ग बाबाले दलित समुदायका दीपक मलिकको घर भत्काएकामा निन्दा गर्दै छानबिन समिति गठन माग गरेका हुन्।
उक्त घट्नाले ६० लाख दलित समूदायलाई अपमानित गरेको उनको भनाइ छ।
‘दलितले बसोबास गरेको माटो अपवित्र हुन्छ भन्दै घर रहेको जमिनको माटो समेत खनेर फालिएको छ। म यो जघन्य अपराधको निन्दा गर्दछु। यो घट्नाले झन्डै ६० लाख दलित समुदायलाई अपमानित गरेको छ,' उनले भने, 'संविधान र कानूनको धज्जि उडाएको छ भने नेपाल र संसारभरी बसेर रहेका सभ्य नेपाली नागरिकको शीर लाजले झुकाउन बाध्य बनाएको छ। निर्वाचित जनप्रतिनिधिले यस्तो अपराधको नेतृत्व गर्नुले नेपाली समाजको चेतनाको स्तर उदांगो पारिदिएको छ। घटनाको सत्यतथ्य छानविन गर्नको लागि संसदीय समितिको माग गर्दछु।’
Shares

प्रतिक्रिया