नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राजतन्त्र भूत भ्रम भएको टिप्पणी गरेका छन्।
जनकपुरमा पार्टीको प्रथम महाधिवेशनअन्तर्गत भाव सम्प्रेषण तथा प्रशंसा अभियान उद्घाटन कार्यक्रम सुरु हुनुअघि आयोजित पत्रकार सम्मेलनमा भट्टराईले वर्तमान राजनीतिक अवस्था, लोकतन्त्रको रक्षा र आर्थिक क्रान्तिको आवश्यकताबारे आफ्नो धारणा राखेका हुन्।
‘हामी पछाडि फर्किने कुरा हुँदैन। मधेसजस्तो क्षेत्र, जहाँ विभिन्न समुदायहरू वर्षौँदेखि उत्पीडनमा परेका थिए, अब जागिसकेका छन्। तिनलाई छलकपट गर्न अब कठिन छ। लोकतन्त्रलाई सुरक्षित गर्न सबै एकजुट हुन आवश्यक छ’, उनले भने, ‘राजतन्त्र भूत हो। भूत भ्रम हो। यस्तो भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्छन्। जसको वास्तविक संसारसँग न सम्बन्ध छ, न सम्भावना।’
उनले राजा र राणाहरूका पालामा आजभन्दा तीन गुणा बढी भ्रष्टाचार हुने गरेको दाबी गर्दै उनीहरूले आफ्ना गलत काम जनतासम्म पुग्नै नदिएको बताए।
‘अहिले जनता पढ्न-लेख्न पाएका छन्। केही क्षेत्रमा अझै शिक्षा आवश्यक छ। तर, त्यस समयमा त आधारभूत शिक्षा पनि सीमित व्यक्तिहरूसम्म मात्र सीमित थियो, उनले भने, राजाहरूले आफ्नै सत्ता सुरक्षित राख्नका लागि खोलिएका केही विद्यालयहरूमा मात्र शिक्षाको पहुँच थियो।’
पूर्वप्रधानमन्त्री भट्टराईले अहिलेको लोकतान्त्रिक व्यवस्थाले जनतालाई स्वतन्त्र रूपमा बोल्ने, आलोचना गर्ने र सरकार छान्ने अवसर दिएको बताए।
यस क्रमा उनले नयाँ वैकल्पिक शक्ति निर्माणको आह्वान गर्दै पुराना दलबाट पनि अब कुनै परिवर्तन सम्भव नरहेको जिकिर गरे।
Shares

प्रतिक्रिया