अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी नियुक्तिको चार महिनापछि मात्र कार्यक्षेत्रमा पुगेका छन्।
रेग्मीले शुक्रबार (चैत ८ गते) वासिङटन डीसीस्थित नेपाली दूतावासमा कार्यभार सम्हालेका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गत मंसिर १६ गते उनीसहित चार जना नवनियुक्त राजदूतले शपथ लिएका थिए। राष्ट्रपतिले उनलाई नियुक्ति भने कात्तिक २५ गते नै दिइसकेका थिए।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारले साउन १४ गते उनलाई अमेरिकाका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो। भदौ २७ गते संसदीय सुनुवाइ समितिबाट उनी अनुमोदन भएका थिए।
पूर्वमुख्यसचिव रेग्मी यसअघि बेलायतका लागि राजदूत पनि भएका थिए।
अमेरिकाका लागि राजदूत नियुक्त हुनुअघि उनी भारतका लागि राजदूत सिफारिस भएका थिए। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेको कोटाबाट उनी भारतमा सिफारिस भएका थिए। एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री भएपछि उनले अमेरिकाको राजदूत बन्ने मौका पाएका हुन्।
यसबीचमा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बन्ने प्रयास पनि गरेका थिए।
उनी २०७४ कात्तिक ६ देखि २०७७ असोज १५ सम्म नेपाल सरकारका मुख्य सचिव थिए।


Shares

प्रतिक्रिया