नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले २०८२ को मंसिर मसान्तसम्म कांग्रेसको अधिवेशन हुन नसके नेपाली कांग्रेस कमजोर बन्ने चिन्ता व्यक्त गरेका छन्।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अधिवेशन २०८२ मंसिर मसान्तसम्म भएन भने नेपाली कांग्रेस कमजोर हुँदै जाने भन्दै त्यसमा ध्यान दिन आग्रह गरे।
आफूहरूले समयमै अधिवेशन हुनुपर्छ भनेर आवाज नउठाए कसैले उठाउन नसक्ने उनको भनाइ थियो।
उनले सामाजिक सञ्जालमा २०८२ को मंसिर मसान्तसम्म महाधिवेशन हुनुपर्छ भनेर लेख्न आफूनिकट नेता-कार्यकर्ताहरूलाई निर्देशन पनि दिए।
उनले भने, ‘नेपाली कांग्रेसको अधिवेशन २०८२ मंसिर मसान्तसम्म भएन भने नेपाली कांग्रेस कमजोर हुँदै जान्छ। त्यतातिर ध्यान दिऔँ हौँ साथीहरू। एकदम सिरियस कुरा छ यो। हामीले आवाज उठाएनौँ भने कसैले आवाज उठाउँदैन। अधिवेशन तपाईंहरूलाई चाहिएको छ। हामी जस्तालाई चाहिएको छ। त्यसकारण तपाईंहरूले आवाज उठाउन जरुरी छ। सामाजिक सञ्जालमा दिनदिनै केही न केही लेखिरहेको म देख्छु। मेरो तर्फबाट एउटा कुरा लेखिदिनुस्। नेपाली कांग्रेसको १५ औं महाधिवेशन २०८२ को मंसिर मसान्तसम्म हुनुपर्छ भनेर लेख्नुस् त। कति प्रेसर पर्दोरहेछ हेर्नुस्। यस्तो प्रेसर पर्छ कि कसैले त्यो प्रेसर खेप्नै सक्दैन। नेपाली कांग्रेसको चलायमान अधिवेशनबाट हुने हो नि त। को आउँछ, को जित्छ, हार्छ भन्ने कुरा आफ्नो ठाउँमा छ।’
Shares

प्रतिक्रिया