राष्ट्रिय सभामा मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी संकल्प प्रस्ताव पेस भएको छ।
सभाको शुक्रबारको बैठकमा नेकपा एकीकृत समाजवादीकी सांसद मदनकुमारी शाह (गरिमा) ले ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गरेकी हुन्।
सांसदहरू सुमित्रा बीसी, गंगा बेल्वासे, विष्णुकुमारी सापकोटा, पूजा चौधरी र डा अञ्जान शाक्य उक्त प्रस्तावको समर्थक छन्।
मर्यादित महिनावारीसम्बन्धी संकल्प प्रस्ताव पेस गर्दै सांसद शाहले मुलुकका ९५ प्रतिशत परिवारमा अझै पनि महिनावारीको बेला महिलाहरूमाथि विभेदमा पर्ने गरेको बताइन्। महिनावारी प्राकृतिक प्रक्रिया रहेको र यसमा गरिने विभेद निर्मूल पार्न जरुरी रहेकोले यो संकल्प प्रस्ताव ल्याउनुपरेको जानकारी दिइन्।
उनले भनिन्, ‘ठाउँ, जाति, धर्म र सम्प्रदायपिच्छे यो अवस्थालाई फरकफरक ढंगले सम्बोधन गर्ने गरिन्छ। धर्म, परम्परा र संस्कारको नाममा छोइछिटो गर्ने गरिन्छ। फरक यति मात्र हो, कतै धेरै त कतै थोरै हुन्छ। कर्णाली र सुदूरपश्चिममा देखिने विभेद छाउगोठमा छ भने नेपालका अन्य ठाउँमा घरको कुनामा देखिने विभेद छ। यो अवस्थालाई बार्न लगाउने चलन नेपालको ९५ परिवारमा रहेको छ।’
संकल्प प्रस्तावका समर्थक सांसदहरूले समेत महिनावारीको विभेदका कारण बालिकाहरूमा गम्भीर असर पर्ने र यो मानव अधिकारको उल्लंघन भएको बताए।
यस्ता विभेदहरू जरैदेखि अन्त्य गर्नुपर्नेमा उनीहरूको जोड छ।
Shares

प्रतिक्रिया