राजनीति


कोसी रास्वपामा गुटबन्दी छताछुल्ल, मुकुल ढकाल पक्षलाई सक्ने संस्थापनको रणनीति

मलाई कार्यवाहक नस्वीकार्दाको परिणाम हो: सरिन
कोसी रास्वपामा गुटबन्दी छताछुल्ल, मुकुल ढकाल पक्षलाई सक्ने संस्थापनको रणनीति

सुमन सुस्केरा
चैत ७, २०८१ बिहिबार २१:२९, विराटनगर (मोरङ)

कोसी प्रदेशको सभापतिबाट राजेश तिम्सिनालाई स्पष्ट आधार र कारणबिना निलम्बन गरेपछि गोमा तामाङ (सरिन) लाई पार्टीले कार्यवाहकको जिम्मेवारी तोक्यो।

तिनै सरिनले अहिले पार्टीका सुनसरी जिल्ला सभापति जीवनकुमार श्रेष्ठलाई सोधेको स्पष्टीकरणपछि रास्वपाभित्रको विवादले नयाँ मोड लिएको छ।

पार्टीभित्रको सामान्य समस्यालाई पार्टीभित्रै छलफल गरेर समाधान गर्नुपर्नेमा स्पष्टीकरण सोधेको र त्यो पनि सार्वजनिक गरेको आरोप सरिनमाथि लागेको छ।

पूर्वमहामन्त्री मुकुल ढकाललाई पूर्ववत् जिम्मेवारीमा फर्काउन माग गर्दै पार्टीका कार्यवाहक सभापति डीपी अर्याललाई पत्र लेखेका कारण प्रदेश सभापति तिम्सिनालाई निलम्बन गरिएको थियो।

खासमा कोसी रास्वपामा जो शक्तिमा पुग्यो, उसले अर्को पक्षलाई पेल्ने प्रवृत्तिले यहाँ उग्र रूप लिएको छ। यसैका परिणामस्वरूप एकपछि अर्को कारबाही, निलम्बन र राजीनामाका शृंखला चलिरहेका छन्।

पार्टीभित्र आकर्षण बढाउने र संगठनको दायरा फराकिलो बनाउनेभन्दा पनि सुरुदेखि पार्टी निर्माणमा लागेका नेताहरूलाई छानीछानी विभिन्न बहानामा कारबाही गरेको भन्दै रास्वपाभित्र उल्लेख्य पंक्ति असन्तुष्ट बन्दै गएको छ।

कोसी कार्यवाहक सभापति सरिनले स्पष्टीकरण सोधेपछि सुनसरी सभापति श्रेष्ठले पनि यस्तै जवाफ फर्काएका छन्। उनले पार्टी नीति, विधि र सिद्धान्तभन्दा बाहिर गएर स्पष्टीकरण सोधिएको भन्दै नेतृत्वकै अनुशासनहीनता र नैतिक स्तरमा प्रश्न उठाएका छन्।

कोसी प्रदेशमा विभिन्न समयमा भएका घटनाहरूले रास्वपाभित्रको अन्तर्विरोध छताछुल्ल पारिरहेकै छ। यस्तै किचलोका कारण रास्वपाले पार्टी गठन भएको लामो समयसम्म पनि संगठनात्मक र राजनीतिक प्रशिक्षण तथा अभियानहरू चलाउन सकेको छैन।

विवादका अनेक रूप
कोसी प्रदेशमा रास्वपाभित्र भाँडभैलोको एउटा दृष्टान्त हो, झापा जिल्ला समिति सभापतिविहीन हुनु।

संस्थापक जिल्ला सभापति उमेश खरेलविरूद्ध उनकै कार्यसमितिले निर्णय गरेर केन्द्रमा कारबाही सिफारिस गरेको छ। आर्थिक र नैतिक चरित्रमा प्रश्न उठाएर पार्टीको समितिले नै कारबाही सिफारिस गरेपछि उनले राजीनामाको बाटो रोज्नुपरेको छ।

मोरङका सभापति यादव प्रधान पनि पार्टीभित्र विवाद बढ्दै गएपछि आफै बाहिरिएका छन्। उनले गत भदौमा नै पार्टी छाडेको बताएका छन्।

‘म पार्टीबाट धेरै टाढा त गइसकेको छैन,’ उनले नेपालखबरसँग भने, ‘साथीहरूको माया अझै छ। तर केही व्यक्ति हावी भएको मलाई मन परेन। शक्तिमा हुनेले शक्तिमा नहुनेलाई पाखा लगाउने काम भयो। एकले अर्कालाई मुक्का हान्ने क्रम चल्यो।’

कोसी प्रदेशका महामन्त्री लालविक्रम थापा पनि निलम्बनमा परेका नेता हुन्।

उनले इटहरीको जनता माध्यमिक विद्यालयको नाममा रहेको जग्गा भाडामा लिएर पैसा नतिरेको, उक्त मुद्दा किनारा लगाउन सुझाव दिँदा नटेरेको, पार्टीको फेसबुक पेज दुरुपयोग गरेको आरोप लगाउँदै २०८० फागुन ७ गतेबाट कारबाहीस्वरूप पार्टीले निलम्बन गरेको थियो।

त्यसपछि उनले आफ्नो कम्पनीको सेयर नै बेचिसकेको भनेर बचाउ पनि गरे। त्यसैको आधारमा झन्डै ७ महिनापछि उनको निलम्बन फुकुवा भयो। यद्यपि, थापाले पेस गरेका कागजात नै नक्कली हुन सक्ने भन्दै पार्टीभित्र प्रश्न उठाउने नेताहरूको कमी छैन।

यस्तो छ गुटगत राजनीति
रास्वपाभित्र अहिले स्पष्टतः गुटको अभ्यास हुन थालिसकेको छ। प्रदेश महामन्त्री थापा र निलम्बित सभापति तिम्सिना पहिलादेखि नै समानान्तर शक्ति अभ्यास गरिरहेका थिए। सभापतिलाई अटेर गर्ने, सभापतिले भनेअनुसारको काम नगर्ने तथा अर्कै समूह खडा गरेर चल्ने गरेको आरोप थापामाथि लाग्दै आएको थियो।

थापा आफू निलम्बनमा परेपछि तिम्सिनाका विरुद्धमा लागेको र त्यसपछि यी दुई एकअर्काको अस्तित्व नै स्वीकार नगर्ने ठाउँमा पुगेको नेताहरू बताउँछन्। रास्वपाका एक प्रदेश नेता भन्छन्, ‘एकले अर्कोलाई स्वीकार गर्न नसक्दा यी दुई समूह बनाएर लागे। राजेशजीले मुकुल ढकालको पक्षमा खुलेरै आफ्ना अभिव्यक्ति राख्न थालेपछि उहाँ पनि विवादमा पर्नुभयो, अनि पार्टीले निलम्बन नै गर्‍यो।’

जब मुकुल ढकाललाई कारबाहीको प्रक्रिया अघि बढ्यो, त्यसपछि उनको समर्थनमा बोल्नेहरू कारबाहीमा पर्दै गए। पार्टीलाई सुधार गर्नुपर्छ, पार्टीभित्रका बेथितिलाई हटाउनुपर्छ र पार्टी नयाँ भएको कारण नयाँ नै बनाउनुपर्छ भन्ने नेताहरू, त्यसमा पनि फरक विचार राख्नेहरूमाथि हालको संस्थापनले वक्रदृष्टि राखेको असन्तुष्ट पक्षको दाबी छ।

असन्तुष्ट समूहका अर्का एक नेता भन्छन्, ‘अहिले पनि कोसी प्रदेशमा मुकुल ढकालनिकटका ७ जना रहेको भनेर उनीहरूलाई कसरी हुन्छ, पाखा लगाउने सोच नेतृत्वमा देखिन्छ।’

मुकुल ढकाल समूहले कोसी प्रदेशमा आफ्नो खेमातिर १३ जनाको समूह रहेको दाबी गर्दै आएको छ भने संस्थापन भनिएको रवि लामिछाने समूहले ७ जना मात्रै रहेको दाबी गर्दै आएको छ।

महामन्त्री थापा भने पार्टी निर्माणको प्रक्रियामा रहेकाले प्रदेशमा कसैले पनि पार्टीलाई हानि हुने गरी नकारात्मक टिप्पणी जिम्मेवार नेताहरूले नगर्ने भनिएको बताउँछन्।

उनी भन्छन्, ‘हामी पार्टी निर्माणमा रहेका छौँ। जिम्मेवार नेताहरूले पार्टीकै आलोचना गर्दा त्यसको सन्देश राम्रो जाँदैन। पार्टीका अन्तरविरोध, असन्तुष्टिहरूलाई पार्टीभित्रै छलफल गर्नुपर्छ मात्रै भनेका छौँ।’

सुनसरी सभापति श्रेष्ठलाई स्पष्टीकरण सोध्नुको मुख्य कारण पनि गुटबन्दी नै रहेको स्रोत बताउँछ।

अझ केन्द्रीय सभापति रवि लामिछानेको नाम लिएर आफ्नो स्वार्थमा कारबाहीको डन्डा चलाउने प्रवृत्ति प्रदेशमा हाबी भएको असन्तुष्ट पक्षको बुझाइ छ।

तर, संस्थापन पक्षचाहिँ रवि लामिछानेमाथि लाञ्छना लगाउनेहरू अहिले कारबाहीमा परेका, त्यस्तैले राजीनामा दिएका र उच्छृंखल गतिविधि गर्नेहरू अनुशासनको कारबाहीमा पर्नु स्वाभाविक रहेको बताउँछ।

आफूलाई कार्यवाहक सभापति स्वीकार नगर्दाको परिणाम अहिले देखिएको सरिनको भनाइ छ।

‘अहिलेको स्पष्टीकरण भनेको कार्यवाहक नस्वीकार्दाको परिणाम हो,’ उनले नेपालखबरसँग भनिन्, ‘प्रदेशको कार्यवाहक म नै हो। ममाथि सधैँ प्रहार भयो।’

उनका अनुसार, रास्वपा कोसी प्रदेश समिति र विभागहरूको बैठक चैत ८ र ९ गते इटहरीमा गर्ने तय भएको छ। पार्टीभित्र उठेका विषयहरू छलफलमा आउने र कारबाहीका विषय पनि त्यही बैठकपछि बाहिर सार्वजनिक हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad