राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीका सभापति जीवनकुमार श्रेष्ठले प्रदेश कार्यवाहक सभापतिले पार्टीको विधिविधान नै पालना नगरेको उल्लेख गर्दै स्पष्टीकरण बुझाएका छन्।
जिल्ला सभापति श्रेष्ठले रास्वपा पार्टी नभई कम्पनी हो भनी अभिव्यक्ति दिएको भन्दै रास्वपाको कोसी प्रदेश समितिका कार्यवाहक सभापति गोमा तामाङ (सरिन) ले स्पष्टीकरण सोधेकी थिइन्।
२४ घण्टे स्पष्टीकरण सोधिएपछि उनले आजै साँझ बुझाएका हुन्।
प्रदेश कार्यवाहक सभापति सरिनलाई सम्बोधन गरेर लेखिएको स्पष्टीकरणमा उनले अनुशासनहीनता मात्र होइन, नेतृत्वको नैतिक स्तरमाथि पनि प्रश्न उठाएका छन्।
‘मलाई पार्टीको सुनसरी जिल्ला सभापति नरहने गरी कारबाही किन नगर्ने भनी २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ तर उक्त पत्र व्यक्तिगत रूपमा पठाउनु सट्टा कोसी प्रदेशको आधिकारिक वाट्सएपको समूहमा सार्वजनिक रूपमा साँझ ८ः४५ बजे राखिनु केवल अनुशासनहीनता मात्र होइन, नेतृत्वको नैतिक स्तरमाथि पनि प्रश्न उठाउने विषय हो,’ स्पष्टीकरणमा भनेका छन्, ‘पार्टी स्थापना कालदेखि नै म पार्टीको विधान र नियमअनुसार काम गर्दै आएको छु। २०७९ सालको सङ्घीय निर्वाचनमा सुनसरी क्षेत्र नं ४ बाट प्रत्यक्ष रूपमा उम्मेदवारी दिएको, सुनसरी जिल्ला संयोजकको भूमिका कुशलतापूर्वक निर्वाह गरेको हो।’
उनले आफू सर्वसम्मत निर्वाचित अध्यक्ष भएकाले स्पष्टीकरण सोधेर कार्यकर्ताको मनोबल गिराउने काम गरेको आरोप पनि लगाएका छन्।
उनले लेखेका छन्, ‘मिति २०८१ पुस ९ गते सर्वसम्मत रूपमा जिल्ला सभापति चयन भएको तथ्य तपाईँ लगायत सरोकारवाला सबैलाई ज्ञात नै छ। तर, तपाईँको पत्रमा मलाई पार्टी हितविपरीत कार्य गरेको आरोप लगाइएको छ, जसले मेरो मात्र होइन, पार्टीलाई निःस्वार्थ रूपमा योगदान दिइरहेका इमानदार कार्यकर्ताहरूको मनोबल गिराउने काम गरेको छ।’
आफू जिम्मेवारीपूर्वक काम गर्न निर्वाचित जिल्ला सभापतिलाई व्यक्तिगत स्वार्थका आधारमा कारबाहीको धम्की दिनु विधिसम्मत नभएको उनको जवाफ छ।
उनले प्रतिप्रश्न गरेका छन्, ‘के पार्टीको निर्णयहरू पदाधिकारीहरूको व्यक्तिगत आकाङ्क्षाभन्दा माथि राख्न नहुने हो? के आन्तरिक छलफलबिना सार्वजनिक रूपमा कुनै कार्यकर्ताको इज्जतमा प्रहार गर्नु लोकतान्त्रिक संस्कृति हो?’
उनले विधि मिचेर गरिएको कुनै पनि कार्य पार्टीको स्थायित्वका लागि हानिकारक हुने भनेका छन्।
‘यो स्पष्टीकरण सोध्ने प्रक्रियामा भएका गम्भीर त्रुटिहरू सुधार्न तपाईं स्वयम् अग्रसर हुनुपर्ने होइन र?’ उनले पेस गरेको स्पष्टीकरणमा लेखेका छन्, ‘यसै सन्दर्भमा, निम्न सात प्रश्नहरूको उत्तरको अपेक्षा गर्दै अहिले पार्टी, पार्टी जस्तो नभएर कम्पनी जस्तो भएको मैले व्यक्तिगत रूपमा गरेको हुनाले कोसी प्रदेशमा पार्टी बनाउनका लागि नेतृत्व सच्चिनु अहिलेको आवश्यकता हो भन्ने मेरो व्यक्तिगत ठहर छ।’
उनले अहिलेको आफ्नो कारणले पार्टीलाई असर गरेको भए क्षमायाचना गरेको पनि भनेका छन्।
उनले दिएको स्पष्टीकरणमा निम्न विषयहरू उठान गरेका छन्।
१) प्रदेश कार्यवाहक सभापतिले व्यक्तिगत रूपमा सोध्नुपर्ने स्पष्टीकरण सार्वजनिक रूपमा समूहमा पोस्ट गर्नु कत्तिको नैतिक र सङ्गठनात्मक रूपमा उचित हो?
२) प्रदेश समितिको कार्यसम्पादन बैठकमा छलफल नगरी व्यक्तिगत स्वार्थका लागि कारबाहीको धम्कीपूर्ण पत्राचार गर्नु पार्टीको कार्यशैलीसँग मेल खान्छ?
३) प्रदेश नेतृत्वले विभिन्न जिल्लामा सम्पन्न जिल्ला भेला केन्द्रबाट प्राप्त कार्यविधिविपरीत गरिएकोलाई विधिसम्मत मान्न सकिन्छ?
४) प्रदेशका विभिन्न विभागमा सम्बन्धित जिल्लाको सिफारिस नलिई मनोनयन गरिनु विधिसम्मत छ?
५) कार्यवाहक सभापतिले निर्वाचित जिल्ला सभापतिलाई पाखण्डी, नालायकजस्ता अपमानजनक शब्द प्रयोग गरी सार्वजनिक रूपमा प्रस्तुत हुनु पार्टीको अनुशासनभित्र पर्छ?
६) निर्वाचित जिल्ला सभापतिलाई बिनाकारण आरोप लगाई स्पष्टीकरण सोध्न कार्यवाहक प्रदेश सभापतिको अधिकारक्षेत्रभित्र पर्छ? प्रदेश अनुशासन आयोगसमक्ष प्रमाणसहित उजुरी गर्नुपर्ने होइन र?
७) कार्यवाहक सभापतिले प्रदेशका कुनै सदस्यलाई प्रदेश पदाधिकारीको रूपमा कार्यवाहक भनी अनुमोदन गर्नु कतिको विधान सम्मत छ?
उनले दिएको स्पष्टीकरणले रास्वपाभित्र विवाद थप सतहमा ल्याएको छ।
Shares

प्रतिक्रिया