पोखरा महानगरको फर्छ्यौट शाखामा कार्यरत कर्मचारी कपिल गिरी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराको टोलीले महानगरपालिकाको गेटबाट उनलाई घुससहित पक्राउ गरेको हो।
अख्तियार पोखराका सूचना अधिकारी राकेश पाण्डेका अनुसार गिरीले अख्तियारलाई मिलाउन घुस चाहिने भन्दै मागेको सूचना पाएपछि घुससहित पक्राउ गरिएको हो।
महानगरका विषयमा अख्तियारमा परेका उजुरी फर्छ्यौट गर्ने जिम्मेवारीमा रहेका गिरीले अख्तियार मिलाउन भन्दै एक कर्मचारीसँग एक लाख रुपैयाँ घुस मागेको अख्तियारको जिकिर छ।
स्याङ्जाका गिरी यसअघि पुतलीबजार नगरपालिकामा कार्यरत थिए। बढुवा भएपछि पोखरा महानगरपालिकामा सरुवा भएका उनी केही समय वडा नम्बर १७ मा कार्यरत थिए।
हाल अख्तियारले उनलाई नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको छ।
उता, रंगेहात पक्राउ परेका गिरीले भने आफू निर्दोष रहेको र केही डर नभएको बताए। उनले सेवाग्राहीलाई आफूले निवेदन लिएर आइज भनेको र त्यो निवेदनभित्र पैसा भएको थाहा नभएको उनले सुनाए।
‘मलाई फसायो। म यस्तो खाले मान्छे होइन म अदालतबाट सफाइ लिन्छु, छुटिहाल्छु। निवेदन लिएर आइज भनेको थिएँ। त्यो पत्र लिएर आइज भन्दा पैसा रहेछ। मलाइ के थाहार? उसले (निवेदन लिएर आउने व्यक्ति) ले पैसा हालेर ल्याउँछ भनेर पत्याउँछ? ऊ पनि एउटा कर्मचारी हो।’
Shares

प्रतिक्रिया