प्रतिनिधिसभाका सांसदहरूले महायज्ञको नाममा घर भत्काइएका दलित परिवारलाई न्याय दिन माग गरेका छन्। बिहीबार बैठकमा सांसदहरूले सिरहाको औरही–५ का दीपक मलिक डोमको घर महायज्ञ गर्न भन्दै भत्काइएकामा सांसदहरूले आपत्ति जनाएका हुन्।
कांग्रेस सांसद जीवन परियारले गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका अध्यक्ष दिलीप यादवसहितका व्यक्तिहरूले डोमको घर भत्काएको भन्दै आपत्ति जनाए। उनले पीडित परिवारलाई न्याय दिन माग गरे।
'डोम जातिका व्यक्तिहरूको उठीबास गरेको छ। त्यसको घोर भर्त्सना गर्न चाहन्छु,' उनले भने, 'पीडित परिवारलाई न्याय दिन सरकारसँग जोडदार माग गर्न चाहन्छु।'
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले पनि घटनाको भर्त्सना गर्दै कारबाहीको माग गरे।
जनमत पार्टीका सांसद अब्दुल खानले प्रहरी चौकी र स्थानीय अगुवाले मौन सहमति जनाएको भन्दै आपत्ति जनाए।
'घर बनेको ठाउँको माटो पनि अपवित्र हो भनेर फालिन्छ,' उनले भने, 'एउटा जनप्रतिनिधिबाट यस्तो भइरहेको छ।'
Shares

प्रतिक्रिया