राजनीति


लोडसेडिङबारे मन्त्री र कुलमानको कुरा बाझियो, यथार्थ बाहिर ल्याउनुपर्‍यो : एमाले सांसद गैरे

लोडसेडिङबारे मन्त्री र कुलमानको कुरा बाझियो, यथार्थ बाहिर ल्याउनुपर्‍यो : एमाले सांसद गैरे

नेपालखबर
चैत ७, २०८१ बिहिबार १२:४७, काठमाडौँ

नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले देशमा पुनः लोडसेडिङ हुने विषयको यथार्थ बाहिर ल्याउन माग गरेका छन्। बुधबार राष्ट्रियसभा बैठकमा ऊर्जामन्त्री दीपक खड्काले नेपालमा लोडसेडिङ हुन लागेको र लोडसेडिङ हटाएको जस भारतलाई दिनुपर्ने बताएका थिए।

बिहीबार सांसद गैरेले ऊर्जामन्त्रीको अभिव्यक्तिबारे सरकारले यर्थाथ सूचना दिनुपर्ने माग गरे। 'नेपालमा लोडसेडिङ हुने कुराको जस भारतलाई दिनुपर्छ भनेर बोलेको सुनेको छु। हिजो पनि मैले त्यहीँ सुनेँ,' उनले भने, 'नेपालको बिजुली भारतले किन्छ, भारतको बिजुली नेपालले किन्छ। यो व्यापारको विषय हो।'

वर्षायामको बिजुली खेर गइरहेको र सरकारले खपतको स्पष्ट योजना ल्याउन नसकेको उनको भनाइ छ। 'अहिले पनि वर्षामा बिजुली खेर जाने अवस्था छ। अर्कोतर्फ हिजो दुईवटा समाचार आए। मन्त्रीज्यू भन्नुहुन्छ लोडसेडिङ हुन्छ, लोडसेडिङ सुरु भयो,' उनले भने, 'अर्कोतर्फ कार्यकारी निर्देशक (कुलमान घिसिङ) भन्नुहुन्छ– लोडसेडिङ हुँदैन, ढुक्क भए हुन्छ। यो खालको समाचारहरूले दिन थालेको सन्देश के हो ? के यस्ता कुराहरू शोभायमान छन्।'

सरकारले आउने समस्यालाई कसरी व्यवस्थापन गर्ने भन्दा पनि भ्रम फैलाउन खोजेको उनको भनाइ छ। 'विद्युत् आपूर्ति कसरी व्यवस्थित गर्ने ? आउन सक्ने समस्यालाई कसरी समाधान गर्ने? अनि जनतालाई आश्वस्त हुने वातावरण कसरी बनाउने ?,' उनले भने 'यो खालको द्विविधायुक्त, भ्रमयुक्त समाचार सम्प्रेषण गरेर हामीले छुट पाउँदैनौँ। यसतर्फ सरकारको ध्यान जानुपर्छ।'

सरकारबाटै फरकफरक सूचना सम्प्रेषण भएको भन्दै उनले वास्तविकता दिन माग गरे। 'यस्तो गलत र फरक फरक सूचना सम्प्रेषण गर्ने कुरा बन्द होस्। जे वास्तविकता हो र यथार्थ हो त्यो कुरा सम्प्रेषण गर्नुपर्छ,' उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad