प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र अन्तरिम सरकार गठनको माग गरेको छ।
ओली नेतृत्वको सरकार र वर्तमान संविधान असफल भएको निष्कर्ष निकाल्दै देशलाई निकास दिन अन्तरिम सरकार गठन गरिनुपर्ने माग आजपाले गरेको हो।
आजपा पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, काठमाडौँमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीसहित बहुमत मन्त्री कार्यसम्पादन मूल्यांकनमा फेल भएको र सरकार जनस्तरबाट अस्वीकृत एवं असफल भइसकेको जिकिर गर्दै नैतिकताका आधारमा प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिएर अन्तरिम सरकार गठनका लागि मार्गप्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको हो।
‘वर्तमान सरकारको कारण आर्थिक सूचकांकहरू नकारात्मक बनेको, वैदेशिक कूटनीतिक सम्बन्धहरू अवरुद्ध भएको, कार्यसम्पादन मूल्यांकनमा प्रधानमन्त्री तथा बहुमत मन्त्रीहरू फेल भएको, सरकार आफैँ जनस्तरबाट अस्वीकृत भएको र सेवा प्रवाह, सुशासन एवं विकासका कामहरू गतिहीन भएकाले हरेक हिसाबले कमजोर एवं असफल सिद्ध भइसकेको सरकार तथा वर्तमान व्यवस्थाबाट ठोस निकास सम्भव नरहेको ठहरसहित प्रधानमन्त्रीलाई तत्काल नैतिकताका आधारमा राजीनामा गरी अन्तरिम सरकार गठनका लागि मार्गप्रशस्त गर्न सरकारसँग माग गरेको छ’, बैठकपश्चात् आजपा उपमहासचिव एवं प्रवक्ता चन्द्रभूषण साहले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यसैगरी बैठकले दलाल दलतन्त्र र अहिलेको व्यवस्था खारेजका लागि आजपाद्वारा पूर्वघोषित तेस्रो जनआन्दोलन सफल बनाउन कमान्डर तोकेको छ।
पूर्वमन्त्रीसमेत रहेका आजपा अध्यक्ष प्रभु साहले दलाल एवं लुटकारी दलतन्त्रको अन्त्य र अहिलको व्यवस्थाको खारेजीका लागि संविधान सभाका सदस्य तिलक थापा मगरको नेतृत्वमा तेस्रो जनआन्दोलन परिचालन समिति गठन गरेका हुन्। थापा आजपाका वरिष्ठ उपाध्यक्ष हुन्।
समितिमा पार्टीका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष ज्ञानेन्द्र तामाङ, उपमहासचिव धनकुमारी मगर, सचिवद्वय उमेश कुशवाहा, देवी पण्डित र बागमती प्रदेश कमिटीका अध्यक्ष रमेश थपलिया सदस्य छन्। बैठकले महासचिव त्रिभुवन साहको संयोजकत्वमा व्यवस्थापन समिति, उपमहासचिव चन्द्रभूषण साहको कमान्डमा प्रचारप्रसार समिति, स्थायी कमिटी सदस्यद्वय रञ्जु साहको नेतृत्वमा आर्थिक समिति र आर्या पाण्डेको संयोजकत्वमा स्वयमसेवक समिति पनि गठन गर्ने निर्णय गरेको छ।
‘दलतन्त्रविरुद्धको तेस्रो जनआन्दोलन सफल पारौँ, जनताको शासनसहित समृद्धिको पथमा अघि बढौँ!’ नारासहित पार्टी अध्यक्ष साहको अध्यक्षतामा बसेको बैठकले आन्दोलनलाई सशक्त र कडा बनाउने निष्कर्ष निकालेको छ।
‘बैठकले दलाल दलतन्त्रको भण्डाफोर गर्ने, नेताहरूको अत्याचारको प्रतिवाद गर्ने, धोकेबाज जनप्रतिनिधिसंग भोट फिर्ता माग्ने, भ्रष्टाचारी र अपराधीलाई जनकारबाही गर्ने, अनावश्यक कर बहिष्कार गर्ने, जनअधिकारको रक्षा एवं आम जनजीविकाकोे लागि निरन्तर संघर्ष गर्ने, असफल व्यवस्था खारेजीका लागि घोषित तेस्रो जनआन्दोलनलाई निर्णायक एवं सफल बनाउने संकल्प गरेको छ’, आजपा प्रवक्ता साहद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
बैठकले पार्टी सदस्यता वितरण, पार्टी कमिटी तथा जबस कमिटी गठन, पुनर्गठन, बैठक एवं भेलालाई युद्धस्तरमा अगाडि बढाउने निर्णय पनि गरेको छ।
Shares

प्रतिक्रिया