राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले सुशासनका कुरा गरेकोप्रति कटाक्ष गरेका छन्।
बुधबार प्रतिनिधिसभामा प्रस्तुत ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८१’ माथि छलफल गर्दै केसीले आफूले अझै ‘कान सुन्न नछोडेको’ बताए।
केसीले भने, ‘तपाईंहरूका नीति कस्ता छन्? घोषणापत्रमा के के लेख्नुभएको छ? जनतालाई भाषण गर्दा के के भन्नुहुन्छ तपाईंहरूले? मैले कान सुन्न छोडेको छैन, अझै सुन्दैछु।’
उनले सात महिनामा सम्पत्ति विवरण बुझाउन के ले रोकेको थियो भनी प्रश्न पनि गरे।
सत्तारुढ दलका सांसदले समेत सरकारको सुशासनका कुरा नपत्याएको भन्दै केसीले अध्यादेशबाट शासन गर्न खोज्नेले सुशासनका कुरा गर्न नमिल्ने जिकीर गरे।
‘जुन सरकारले अध्यादेशबाट शासन गर्छ, त्यो सरकारले सुशासनको कुरा गर्दा पत्याउने कसले?’ उनले भने, ‘सरकारमै भएका सांसदहरूले यही सरकारले मतदान गरेका मतदाताले पत्याउनुहुन्छ? छातीमा हात राखेर भन्नुस् त?’
अध्यक्ष केसीका अनुसार सत्तारूढ दलकै कमजोरीका कारणले व्यवस्थामाथि प्रश्न उठेको दाबी गरे।
‘तपाईंहरू केको सुशासनको कुरा गर्नुहुन्छ? तपाईंहरू नराम्ररी फस्नुभएको छ। तपाईंहरू फसेकै कारणले हामीले यति गरेर ल्याएको गणतन्त्र र बहुदल घेरामा परेको देख्नुभएको छैन? के त्यो कुनै विदेशीका कारणले हो? लोकतन्त्र विरोधी, गणतन्त्र विरोधीका कारणले हो? होइन नि’ उनले भने, ‘सात महिनामा आफूले कमाएको सम्पत्तिको विवरण बुझाउन नसक्ने वा नचाहने सरकारले अनि ठूला ठूला कुरा गरेर किन दुनिया हँसाउने? त्यसकारणले समय छ। हामी सच्चिनुपर्छ। यदि हामी सच्चिएनौँ भने संसारले देख्नेछ।’
Shares

प्रतिक्रिया